एकै परिवारका ४ जनाको हत्या
विराटनगर । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राईले शनिबार राति करिब १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेका थिए । उनले आफूमाथि चक्कु प्रहार भएको र मान्छे मारेको भन्दै पक्राउ गर्न आउन भनेका थिए ।
अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोककुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली घटनास्थल गएको थियो । त्यहाँ पुग्दा राजेन्द्रका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनकी १६ वर्षी श्रीमती र १० वर्षका सालोको शव फेला परेको थियो । सबैलाई धारिलो हतियार प्रहार गरिएको पाइएको प्रहरीको भनाइ छ ।
राईले गत वर्ष प्रेम विवाह गरेका थिए । राजेन्द्र वडा १ को हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला परेका थिए । पेटमा धारिलो हतियारको चोट रहेका उनको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार राति करिब ११ बजे सासु आमाले आफूलाई चक्कुले हानेपछि आफूले चारै जनाको हत्या गरेको प्रहरीसमक्ष बताएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए ।
