उपसमितिको प्रतिवेदनकै आधारमा शिक्षा विधेयक पारित हुने सम्भावना

काठमाडौं । विद्यालय शिक्षा विधेयक माथिको छलफल गर्न आज आइतबार संसदीय समितिको बैठक बस्दैछ । यसअघि नै समितिले विधेयकलाई अन्तिम रुप दिने तयारी गरेको भए पनि केही विषयमा कुरा नमिल्दा त्यसो हुन सकेको छैन ।

प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले अन्तिम टुंगो लगाएपछि विधेयक संसदमा पेस हुनेछ । समितिका सभापति अम्मरबहादुर थापाले उपसमितिले तयार गरेको प्रतिवेदन अनुसारै विधेयक टुंग्याउने तयारी गरिएको छ । उपसमितिले पेस गरेको प्रतिवेदनभन्दा दायाँबायाँ नहुने उनको भनाइ छ । सकेसम्म आइतबारकै बैठकबाट विधेयकलाई टुंग्याइने सभापति थापाले बताए ।

सरकारले खुला प्रतिस्पर्धाको लागि ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट ५० प्रतिशत शिक्षक छनोट गर्नु पर्ने प्रस्ताव गरेको थियो । सांसद छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक छनोट गर्नुपर्ने सुझाव दिएको थियो ।

समितिमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले ६० प्रतिशतभन्दा बढी शिक्षकलाई आन्तरिक रुपमै स्थायी गर्नुपर्ने अडान राखेका उनीबाहेक अरु दलका सांसदहरु भने सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट ६० प्रतिशत र आन्तरिक प्रतिस्पर्धाबाट ४० प्रतिशत शिक्षक छनोट गर्न सहमत भएका थिए ।

समितिका एक सदस्यका अनुसार यसबीचमा भएको छलफलका क्रममा कांग्रेस पनि ६०-४० नै कायम हुने संकेत देखिएको छ । त्यसैले अब शिक्षा विधेयक समितिले टुंगो लगाउन सहज भएको उनको भनाइ छ । शिक्षकको आवधिक बढुवामा कार्य सम्पादन मूल्यांकनको विषय पनि विवादित बनेको थियो । यसमा मूल्यांकन अंक ९० नै कायम हुने सम्भावना रहेको ती सदस्यले बताएका छन् । नेपाल शिक्षक महासंघ ९० बाट घटाउनुपर्ने पक्षमा रहँदै आएको छ ।

यसैबीच शिक्षामन्त्री रघुजी पन्तले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग भेट गरी विधेयकको पछिल्लो अवस्थाबारे जानकारी दिंदै छलफल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *