खगिन्द्राको ‘खुशीको गाउँ’ पाठकमाझ

झापा । उपन्यासकार खगिन्द्रा खुसीको ‘खुशीको गाउँ’ उपन्यास पाठकमाझ आएको छ । झापाको खुदुनाबारी शिविर कैदले पार्कमा आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको स्थान कृतिमा वर्णन गरिएको स्थान नै हो ।

कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका उपमेयर खड्गमाया पराजुली, विशेष अतिथि प्राज्ञ सुमित्रा वाङदेल चेली, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र कार्यक्रमका सभापति साहित्यकार विवश बलीभद्र कोइरालाले कृति सार्वजनिक गरेका थिए ।

‘खुशीको गाउँ’ भुटानी शरणार्थीको जीवन संघर्षमा आधारित कथा बुनिएको उपन्यास हो । शरणार्थी शिविरमा रहँदा भुटानी शरणार्थीहरुले भोगेका पीडा, शिविरभित्रको प्रेम जीवन पुनर्वासले ल्याएको परिवर्तन कृतिमा समेटिएको छ ।

शरणार्थीका रुपमा दुई दशकसम्मको अविराम दुःख र संघर्षका गाथालाई उपन्यासमा समेटिएको छ । कार्यक्रममा समालोचक प्राज्ञ मुनाराज शेर्पा, प्रा. डा. गंगाप्रसाद अधिकारी र नमुना निरौलागायतले कृतिबारे चर्चा गरेका थिए । सामूहिक बिमर्शमा साहित्यकार गणेश निरौलाले सहरजीकरण गरेका थिए ।

विश्व भूटानी साहित्यिक संगठन (जिबिएलओ) ले प्रकाशन गरेको यो उपन्यास २९७ पृष्ठमा सरल भाषाशैलीको प्रयोग गरी लेखिएको छ । यसअघि विश्व भुटानी साहित्यिक संगठनले एक महिनाअघि नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा यो कृति सार्वजनिक गरिएको थियो ।

सन् १९९० को दशकमा भुटानबाट नेपालीभाषी लखेटिएपछि झापा र मोरङमा आएर शरणार्थी शिविरमा बसोबास गरेको कालखण्ड र पुनर्बासपछि तेस्रो मुलुक पुग्दासम्मका कारुणिक यथार्थ र वास्तविक संघर्षलाई समेटेर कृति तयार भएको हो ।

यो कृतिअघि खगिन्द्राको ‘आमाको डायरी’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । उपन्यास कृति यही पहिलो हो । बिमर्श कार्यक्रममा बरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, आख्यानकार कृष्ण बराल, साहित्यकार केशब आचार्य, अभागी थेगुवा, कुमार भट्टराई, आचार्य प्रभा, विन्दु दाहाल मुकदर्शक, भवानी क्षेत्री, बिरही अधिकारी, हरिनारायण भट्टराई, भुटानी स्रष्टा तिलक राई, निहाङ किराँती, गीतकार टीका भट्टराई नेपाल लगायत झापा, इलाम, पाँचथर, मोरङ र सुनसरीका अग्रज साहित्यकारहरुको उपस्थिति थियोे ।

कृति सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन स्रष्टा केशव भट्टराईले गरेका थिए । कार्यक्रमका सहभागीलाई दिलिप घिमिरेले मन्व्यसहित स्वागत गरेका थिए ।

के भन्छिन् सर्जक ?

कृति सर्जक खुसीले आफ्नो सिर्जनाबारे मार्मिक अभिव्यक्ति दिएकी छन् । उनले कुनै पनि कृति लेखुन्जेल मात्र लेखकको हुने, लेखिसकेपछि सर्जकको अधीनमा नहुने अनुभव व्यक्त गरेकी छन् ।

उनी भन्छिन्, ‘सिर्जना लेखुन्जेल मात्र लेखकको हुन्छ, लेखिसकेपछि उसको अधीनमा हुँदैन, त्यसपछि कृति–सिर्जना पाठकको हुन्छ, समीक्षकको हुन्छ । आज फेरि एकपटक आफूले महसुस गर्न पाएँ । मैले लेखेको उपन्यास खुसीको गाउँको विमर्श कार्यक्रम सम्पन्न हुँदै गर्दा, वक्ता र समीक्षकहरुबाट आफ्नै कृति माथि बहस चलिरहँदा आफैं अचम्मित अनि पुलकित बनिरहेकी थिएँ । लेख्दा लेख्ने विषय र उद्देश्य एउटा, योजना एक दुई हुन्छ । विमर्श गर्दा सिद्धान्त, उद्देश्य, चरित्र, पात्र, परिवेश, विषयवस्तु आदि अनेक कोणबाट विश्लेषण गरिन्छ । लेखकका लागि यो प्रक्रिया एक सुन्दर अनि उत्प्रेरक बन्ने रहेछ ।

आजको दिन त्यही उत्सुकताका साथ बित्यो । भुटानी शरणार्थी शिबिर बसेको स्थान खुदुनाबारीमा सम्पन्न भएको कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम लगायतका जिल्लाबाट उपस्थित हुनुभएका आदरणीय स्रष्टा, सर्जक, प्राध्यापक, समीक्षक, समालोचक, पत्रकार तथा साहित्यप्रेमी, प्राज्ञिक, बौद्धिक महानुभावहरुको उपस्थिति थियो । यतिका विद्वान व्यक्तित्वहरुको उपस्थितिमा आफ्नो कृतिको विमर्श गराउन पाएर खुसी भएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *