ट्युसनबाट फर्कँदा कुटपिट, २ जना विद्यार्थीको मृत्यु
झापा । झापाको शिवसताक्षीमा कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आदित्यको उपचारका क्रममा बीएन्डसी अस्पतालमा बुधबार मृत्यु भएको हो भने रोमनको असार १४ गते मृत्यु भएको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षीकै १५ वर्षका दुई जना, १४ वर्षका तीन जना र १३ वर्षका एक जना किशोर छन् । पक्राउ परेकाहरूले कुटपिट गरेको प्रहरीमा स्वीकारेका छन् । घटनामा उनीहरूको मात्र संलग्नता हो कि अरूको पनि छ भन्ने कोणबाट पनि प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ ।
प्रहरीका अनुसार असार ११ गते बिहान शिवसताक्षी-९ संगमचोक बस्ने अमर तामाङका छोरा आदित्य तामाङ स्कुलबाट ट्युसन पढेर घर फर्कदै गर्दा आयुष राईसहित ६ जनाले कुटपिट गरेका थिए ।
फर्कंदै गर्दा स्थानीय प्लटिङ गरिएको जग्गामा बोलाएर उनीहरूले कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालयका झापाका निमित्त प्रवक्ता इन्स्पेक्टर प्रवीण श्रेष्ठका अनुसार रिसईबीका कारण घटना भएको प्रारम्भिक अनुमान छ ।
घटनालगत्तै इलाका प्रहरी झिलझिलेको टोलीले अनुसन्धान सुरु गरेको थियो । घाइतेहरूको मृत्यु भएपछि भने जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ । अनुसन्धानपछि विस्तृत खुल्ने निमित्त प्रवक्ता श्रेष्ठले सरल पत्रिकालाई जानकारी दिए ।
तामाङ राष्ट्रिय रमणीय मावि दुधेमा कक्षा ८ मा अध्ययनरत थिए भने थापा ध्रुतारा बोर्डिङ स्कुल दुधेमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।
कुटपिट गर्नेहरुलाई पक्राउ गरी कारबाही माग गर्दै आदित्यका आफन्तले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएका थिए । कुटपिटमा संलग्नलाई कडा कारबाही गर्न परिवारले माग गरेका छन् । त्यसपछि खोजीमा परिचालित प्रहरी टोलीले कुटपिटमा संलग्नहरुलाई पक्राउ गरेको थियो ।
