प्रहरी हौं भन्दै लुट्दै, २ जना पक्राउ
विराटनगर । आफूहरू प्रहरी भएको भन्दै विभिन्न व्यक्तिहरूको नगद लुट्न सक्रिय समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त समूहले अपहरण गरी बन्धक बनाएर डकैती समेत गर्ने गरेको खुलेको छ ।
यस्तो कार्यमा संलग्न विराटनगर महानगरपालिका–८ का २४ वर्षीय समीर हुसेन र ६ का २७ वर्षीय आशिफ अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । गत असार ११ गते विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीले बैंकमा जम्मा गर्न लैजाँदै गरेको ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो ।
रातो रङको स्कुटरमा आएका तीन जनाले लुटेको खबर प्रहरीले पाएको थियो । पीडितका अनुसार सिटी सफारीमा यात्रा गरिरहेका बेला रानीस्थित राइस मिल नजिक स्कुटर रोकेर सोधीखोजी गरेका थिए ।
उनीहरूले ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको अनुसन्धान टोली हौं’ भन्दै साहलाई नियन्त्रणमा लिएका थिएर जबर्जस्ती विराटनगर–१४ स्थित एकान्त स्थानमा पुर्याएका थिए । त्यहाँ पुगेपछि धम्क्याउँदै उनको साथमा रहेको नगद रकम लुटेर भागेको पाइएको प्रहरीले जनाएको छ ।
उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा लुट्ने समूहले प्रयोग गरेको को १४ प ३३३० नम्बरको स्कुटरसहित हुसेन र अन्सारीलाई पक्राउ गरिएको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनीहरूमाथि शरीर बन्धक बनाई डाँका गरेको कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान जारी राखिएको छ ।
यात्रु पछ्याएर चोरी गर्ने भारतीय महिलाको समूह विराटनगरमा सक्रिय
