शिक्षा विधेयकलाई अन्तिम रूप दिन आज पनि छलफल

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा छलफल गरी सहमति जुटाउन सोमबार पनि संसदीय समितिको बैठक बस्दैछ । सहमति जुटाउन बाँकी रहेका भनिएका विषयमा छलफल गर्न बैठक राखिएको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । उक्त प्रतिवेदनमा केही दिनयता लगातार छलफल भइरहेको छ ।

समितिले कतिपय विवादित विषयमा सहमति कायम गरी टुंग्याइसकेको छ भने केही विषयमा सहमति हुन बाँकी रहेको समिति सदस्य एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले जानकारी दिइन् ।

शिक्षकहरुसँग सरकारले असार १५ गतेभित्रै विधेयक पारित गर्ने सहमति जनाएको थियो । यो सहमतिअनुसारको मिति गुज्रिसकेको छ । समितिका सभापति अम्मरबहादुर थापाका अनुसार बाँकी रहेका विषयको टुंगो लगाउन अझै केही दिन छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

समितिमा सहमति जुटेका विषयहरु यी छन्–

–शिक्षा विषयबाहेक पढ्नेलाई पनि शिक्षक बन्न अवसर

–माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन । प्रदेशको जिम्मा दिइने ।

–जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई राख्ने ।

–निजी विद्यालयको सञ्चालन र व्यवस्थापन ।

–प्रारम्भिक बाल विकास शिक्षाको सञ्चालन ।

–शिक्षकको अस्थायी सेवा गणना गर्ने ।

–शिक्षकहरूको आवधिक बढुवा ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठक संघीय निजामती सेवा विधेयक पारित गरेसँगै स्थगित भएको छ । सभामुख देवराज घिमिरेले अर्काे बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

यसैबीच, आजै अरु तीनवटा संसदीय समितिको बैठक पनि बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ भने संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ हुन बाँकी सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *