पहिलो कविता कृति लिएर पाठकमाझ आउँदै आचार्य
इलाम । विभिन्न माध्यममा फुटकर रचना प्रकाशित गर्दै अनि कार्यक्रमहरुमा रचना सुनाउँदै आएका सक्रिय इलामेली स्रष्टा दिपेन्द्र आचार्य आफ्नो पहिलो कृति ‘व्यापार पृथ्वीको’ लिएर आउँदै छन् । पुस्तकाकारका रुपमा उनको यो कविता संग्रह पहिलो कृति हुनेछ । यसअघि उनले क्याम्प्स पढ्दाताका ४० पृष्ठको हाइकु सङ्ग्रह ‘इक्षण’ प्रकाशित गरेका थिए । कविता संग्रह भने ‘व्यापार पृथ्वीको’ पहिलो हो ।
जीवन, जगत र समसामयिक विषयलाई समेटेर उनले रचना गरेका कविताहरु यो संग्रहमा समेटिएका छन् । इन्डिगो इन्क पब्लिकेसन्सबाट प्रकाशित हुन लागेको ‘व्यापार पृथ्वीको’ प्रकाशन हुन लागेको आफ्नो पहिलो कृति भएकाले निकै उत्साहित भएको आचार्यले बताए ।
कृति सकेसम्म असारभित्रै नभए साउन पहिलो सातामा पाठकमाझ ल्याउने तयारी भइरहेको उनले बताए । उनले गरेका सिर्जनाहरु यसअघि विभिन्न अनलाइन र पत्रिकाहरुमा प्रकाशित हुँदै आएका छन् ।
इलाम सदरमुकाम, फिक्कल र अन्यत्र आयोजना हुने साहित्यिक उत्सवहरूमा नियमिजस्तो सहभागिता जनाउँदै आएका आचार्य शिक्षण पेशासँग सम्बन्धित छन् ।
‘मान्छेजस्तै जीवन जिउनका लागि साहित्य अपरिहार्य हो’ उनी भन्छन्, ‘त्यसैले नियमित लेखनमा सक्रिय छु ।’
कविता, लघुकथा, मुक्तक, हास्यव्यङ्ग्य विधामा पनि कलम चलाउने आचार्यलाई लाग्छ- ‘साहित्य जीवन हो ।’
सूर्योदय गजल मञ्चको सहसचिव रहेका आचार्य इलामकै कन्यामस्थित कृष्णाश्रम माध्यमिक विद्यालयमा शिक्षकका रुपमा कार्यरत् छन् ।
कुनै पनि सर्जकले आफ्नो पहिलो पुस्तकाकार कृति पाठकमाझ ल्याउनु कम्ती चुनौतीपूर्ण हुँदैन । यस्तो आचार्यलाई पनि लागेको छ ।
‘अवश्य नै कृति प्रकाशित गर्नु चुनौतीपूर्ण नै हुन्छ’ उनले भने, ‘सँगै उत्साह र दायित्व जन्माउने घटना पनि हो जस्तो लाग्यो ।’
कृति बजारमा आएपछि पाठक र समालोचकले यसको असली चेहरा उजागर गरिदिने भएकाले कृति प्रकाशनले परिपक्व बनाउन मद्दत गर्ने आचार्यको विश्वास छ।
