मृत भेटिइन् बालिका, बलात्कारपछि हत्याको आशंका
घटनास्थल
विराटनगर । मोरङको धनपालथानमा एक जना बालिका मृत अवस्थामा फेला परेकी छन् । उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।
धनपालथान गाउँपालिका-६ बबियाकी ५ वर्षीया आत्तिका सरदार शनिबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । उनको अनुहारसहित शरीरका विभिन्न भाग चोट रहेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा बालिकामाथि जबर्जस्ती भएको अनुमान गरिएको छ ।
राति उनी आफ्ना आमाबुबासँगै सुतेकी थिइन् । बिहान करिब ३ बजेतिर अभिभावकले आफूहरुसँग छोरी नभएको थाहा पाएका थिए । सोधीखोजी गर्दा केही जानकारी नपाएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी टोलीले खोजी गरेको थियो । घरबाट करिब सय मिटर पर दुर्गा अधारभूत विद्यालय नजिकै बारीमा बालिकाको शव फेला परेको मोरङ प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए ।
उनका अनुसार घटनाको अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरिएको छ । बालिकाको कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ । त्यसपछि अलि विस्तृत जानकारी आउन सक्ने चिमरियाले बताए ।
