शिक्षा प्रवर्द्धनका लागि ‘टिकटक प्रतियोगिता’

काठमाडौं। अनिवार्य तथा निःशुल्क शिक्षा प्रवर्द्धनका लागि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ‘टिकटक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । जनचेतना तथा सन्देशमूलक प्रतियोगिता भनिएको यसमा टिकटक भिडियो बनाउन आह्वान गरिएको छ ।

मेलम्ची नगरपालिकाभित्र बसोबास गर्ने कलाकार, स्थानीय वासिन्दा जुनसुकै पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरिएको छ ।

प्रतियोगिताका लागि विभिन्न सर्त र मापदण्डहरु तय गरिएको नगरपालिकाले जनाएको छ । जसअनुसार निर्माण गरिने टिकटक भिडियो अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमलाई प्रवर्द्धन गर्ने खालको हुनुपर्ने छ ।

भिडियो मौलिक एवं निर्माताको सिर्जनात्मकता झल्किने गीत, संवाद, नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र बढीमा तीन मिनेट सम्मको हुनुपर्ने जनाइएको छ ।

त्यसरी बनाइएको टिकटक भिडियो सूचना प्रकाशित भएको मिति असार ११ गतेदेखि सात दिनभित्र नगरपालिकाको इमेल [email protected] मा पठाउनुपर्ने छ । प्राप्त भएका टिकटक भिडियोहरुको मूल्यांकन नगरपालिकाले गठन गरेको मूल्यांकन समूहबाट टिकटकको हाउभाउ, भेषभुषा र सन्देशको विषयवस्तुका आधारमा गरिने प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए ।

उत्कृष्ट हुने तीन वटा सन्देशमूलक टिकटक भिडियोलाई नगरपालिकाबाट १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । उत्कृष्ट भिडियोहरु नगरपालिकामा रही त्यस्ता सन्देशहरु नगरपालिकाले प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ ।

नगरपालिकाले जारी गरेको सूचनामा यसबारे थप केही बुझ्नु परेमा ९८४९०००२३७ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *