आगलागीमा सर्वस्व गुमाएका विद्यार्थीहरूको पढाइ शुल्क मिनाहा

विराटनगर । मोरङको पथरी शनिश्चरेस्थित हसन्दह डन बस्को जेम इङ्गलिङस स्कुलले आगलागी पीडित विद्यार्थीलाई शैक्षिक सत्रभरि सम्पूर्ण शुल्क मिनाहा गरिदिएको छ ।

आगलागीबाट धनमाल क्षति भएका परिवारका बालबालिकालाई स्कुलले सामग्री दिएर सहयोग पनि गरेको छ ।

पथरी शनिश्चरे नगरपालिका–६ हसन्दहमा गत असार ७ गते आगलागी भएको थियो । आगलागीमा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको घरसहित सबै सामान जलेर नष्ट भएको थियो ।

स्थानीय मनोज मण्डलको घर जलेर नष्ट हुँदा उनका सन्तान रोयल्सा र युनिक मण्डलका पाठ्यसामग्री, पोशाक सबै जलेर नष्ट भएको थियो ।

रोयल्सा उक्त विद्यालयको नर्सरी र युनिक एलकेजीका विद्यार्थी हुन् । आगलागीको क्षतिले पीडित बनेका उनीहरुलाई स्कुल परिसरमै शिक्षक र विद्यार्थीमाझ सहयोग गरिएको प्रिन्सिपल दुर्गाप्रसाद ढकालले बताए ।

अभिभावकको समेत उपस्थितिमा मंगलबार बिहानी सत्रको प्रार्थना सभाका बेला उनीहरुलाई सामान हस्तान्तरण गरिएको थियो ।

प्रिन्सिपल ढकालका अनुसार दुवै विद्यार्थीलाई शैक्षिकसत्र २०८२ को लागि सम्पूर्ण शुल्क मिनाहा गरिने निर्णय समेत गरिएको छ । ‘दुःखका बेला सकेको सहयोग गर्नु हाम्रो पनि कर्तव्य हो’ उनले भने, ‘त्यसैले अभिभावकको अवस्था हेरेर हामीले यो निर्णय गरेका हौं ।’

अमेरिकाबाट छात्रवृत्ति सहयोग

यसैबीच, पथरी शनिश्चरे–६ घर भइ हाल अमेरिकामा रहेका नारायणजंग निरौला र तारा निरौलाले उक्त स्कुलमा अध्ययनरत दुई जना विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति सहयोग गरेका छन् ।

कक्षा ५ की अनुसा चौधरी र कक्षा ४ का रोहित न्यौपानेका लागि उनीहरुले छात्रवृत्ति सहयोग गरेका हुन् । यो शैक्षिक सत्रभरि उनीहरुलाई अध्ययनमा सहयोग हुने गरी छात्रवृत्ति सहयोग प्राप्त भएको प्रिन्सिपल ढकालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *