युएईमा अब नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार दिराम

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्न जाने नेपालीको न्यूनतम पारिश्रमिक अब १ हजार दिराम कायम भएको छ। नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो निर्णय गरेको हो ।

उक्त निर्णय सोमबार राजपत्रमा प्रकाशित भएको छ । प्रकाशित भएसँगै अब कार्यान्वयनमा आएको छ । म्यानपावर कम्पनीले १ हजार दिरामभन्दा कम तलब पाउनेगरी अब कामदार यूएई पठाउन पाउने छैनन् । यो निर्णय कार्यान्वयनमा कुनै म्यानपावर कम्पनीले लापरबाही गरे कडा कारबाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

अब न्यूनतम पारिश्रमिक पाउने प्रत्याभूति भएको मागपत्र मात्र प्रमाणीकरण हुनेछ । त्यसो नगरे श्रम स्वीकृति मिल्ने छैन ।  यसअघि यूएईमा अदक्ष श्रमिकका लागि तोकिएको न्यूनतम पारिश्रमिक ८ सय दिराम थियो । त्यसलाई बढाएर १ हजार दिराम पारिश्रमिक र थप ४ सय दिराम खानाका लागि छुट्याउने गरी कुल १ हजार ४ सय दिराम भतोकिएको छ ।

अर्धदक्ष श्रमिकलाई १ हजार २ सय दिराम तलब र ४ सय दिराम खान खर्च गरी कुल १ हजार ६ सय दिराम, दक्ष श्रमिकलाई १ हजार ५ सय दिराम तलब र ४ सय दिराम खाना खर्चसहित १ हजार ९ सय दिराम पारिश्रमिक अनिवार्य गरिएको छ ।

उच्च दक्ष श्रमिकका लागि भने ६ हजार दिराम तलब र ४ सय दिराम खान खर्चसहित कुल ६ हजार ४ सय दिरामभन्दा कम पारिश्रमिक दिन पाइने छैन । श्रमिकको श्रमको मूल्य अभिवृद्धि गर्ने, उनीहरूको जीवनस्तरमा सुधार ल्याउने र रोजगारदाताबाट हुने श्रम शोषण रोक्ने उद्देश्यले यो निर्णय गरिएको सरकारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *