मौनता
तिम्रो मौनतालाई चुपचाप हेरिरहन्छन्
यी आँखा
भावातीत बनेर।
स्मृति बहकिएर आउँछन्।
चिच्याउँदै अनि चिर्दछन्
मौनतालाई।
तिमी चुपचाप उही मौनतामा हराइरहन्छौ।
चुपचाप।
म पर्खिरहन्छु, एउटा समयको बिन्दु
जसमा केवल मौनतासँगै घटित हुनेछन्
अनगिन्ती प्रश्नका उत्तरहरु।
भावहरु बोल्नेछन् चर्काे आवाजमा,
मानौँ तिनीहरू समेत समयको पिँजरामा कैद थिए।
पखेटाहरु फटफटाएर उडान भर्नेछन् बिस्तारै।
चुपचाप।
मौनतामा हराउँदा झन् सुन्दर देखिन्छौ।
जसरी फूल फुलेको छ।
कसैलाई खबर छैन।
न पुतली, न भमरा
चुपचाप यसै फुलिरहेछ।
हावालाई थाहा छ, सुगन्ध आइरहेको।
थोरै छोएर जिस्क्याइरहेको छ।
तर चुपचाप।
यही हावाको लुकामारीसँग म रमाइरहेछु।
देख्छु फूलमा तिम्रो छायाँ।
छोइदिन्छु, चलाइदिन्छु, जिस्काइदिन्छु।
तिमी चुपचाप महसुस गरिरहन्छौ।
केवल चुपचाप।
हरेक श्वासले तिमीलाई निलिरहेको छ
र, हरेक प्रश्वासमा बाहिरिरहेका छौ।
मेरो स्पन्दन छोएर आएको
भर्खरको श्वास पनि अब मेरो छैन।
यहाँ मेरो केही छैन।
न तिमी न म।
उसो भए तिमी शून्य हौ
अनि म पनि।
यो आभासले छोयो, जुन शून्यतामा
त्यही शून्यता भन्दा प्रिय कुनै वस्तु छैन।
आनन्द छ मात्र आनन्द।

…शुन्यता भन्दा प्रिय वस्तु छैन…
सुन्दर भाव, कलात्मक सिर्जना । बधाई छ ।
आभार सर्जक ज्यू🙏