मोती दिएर आँसु बटुलेँ हार भएन जीत…
मोती दिएर आँसु बटुलेँ हार भएन जीत
हाँगाबाट खसेको फूलले भुल्न सकेन प्रीत…
टिनको छप्पर, काठको भित्ता अनि अघिल्तिर सिमेन्टले लिपेर बनाइएको सानो आँगन। यस्तै छ अहिले पनि प्रसिद्ध उपन्यासकार प्रकाश ‘कोविद’ को कालेबुङस्थित घर। घरभित्र केही कोठाहरूमध्ये एउटा छ १० अनि १२ फुट आकारको कोठा। यसमा ‘कोविद’ ले बनाएका काष्ठ शिल्पहरू सजाएर राखिएका छन्।
यसै कोठामा राखिएको शो–केसमा ‘कोविद’ का उपन्यासहरूको थाक छ। त्यसमा उपन्यासहरूको यस थाकमा ‘नोयो’, ‘अर्को जन्म’ उपन्यास भने छैन। यी ‘कोविद’ का अति प्रिय उपन्यासहरू हुन्।
त्यही कोठामा एक्लै बसेर प्रकाशले उपन्यास लेख्थे। जब तिनले उपन्यास लेख्न थाल्थे कोठामा कसैलाई प्रवेश अनुमति हुँदैन थियो। एक्लो, शान्त वातावरणमा सिग्रेटको धुवाँ उडाउँदै उपन्यास लेख्न बसेपछि एक महिनाको अवधिमा एउटा उपन्यास लेखिसक्थे।
माथिका सर्वाधिक चर्चित शब्द उनले यही घरमा सिर्जना गरेका हुन्। आफ्नो ६१ वर्षको जीवनकालमा उनले करिब ५० वटा उपन्यास, ६ वटा कथासंग्रह, एउटा नाटक संग्रह, एउटा एकांकी नाटक संग्रह र बाल साहित्यका कैंयौं पुस्तक लेखेका थिए। ‘नोयो’, ‘अर्को जन्म’, ‘नीलो आकाश’, ‘हार जीत’, ‘टिस्टा रंगीत’, ‘सीमा’, ‘अनुराधा’, ‘संगम’ आदि उनका चर्चित कृति हुन्।
प्रकाशका साइँला छोरा रामसँग यस्ता कतिपय स्मृति अझै ताजा छन्। उनी भन्छन्, ‘पापाले काठबाट विभिन्न प्रकारका सजाउने सामग्रीहरू पनि बनाउनुहुन्थ्यो। अनि बाँसमा मादल बजाइरहेका मानिसहरूको चित्रहरू पनि बनाउनु हुन्थ्यो।
उनले बनाएका चित्रहरू अझैसम्म भोटे बस्ती गाउँका धेरै घरहरूमा सजाएर राखिएका छन्। यहाँमात्रै होइन तिनले बनाएका काष्ठशिल्प तथा अन्य चित्रहरू अन्य विभिन्न ठाउँहरूमा पनि देखिएका हुन्।
जोरथाङमा आयोजना हुने माघे मेला, जिम खाना तथा अन्य स्थानहरूमा हुने कार्यक्रमहरूमा यस्ता चित्र तथा काष्ठशिल्पहरू राम पनि आफ्ना पापासित बेच्न जान्थे। पापाबाटै प्रेरणा पाएर आफूले पनि बाँसबाट विभिन्न सामग्रीहरू बनाउने गरेको रामले बताए।
प्रकाश ‘कोविद’ को ११ नोभेम्बर १९९२ मा देहान्त भएको थियो। रामका अनुसार उनी सिग्रेट एकदमै बेसी पिउँथे। एक दिनमा ६ प्याकेटसम्म सिग्रेट सकिन्थ्यो। पछि फोक्सो अनि कलेजोको समस्याले नै निधन भएको उनले बताए।
‘बिरामी परेपछि बचाउने धेरै प्रयास गरियो। तर मृत्यु सबैभन्दा बलवान भएर आएको थियो। त्यसले पापालाई सदाका लागि हामीबाट धेरै टाढा लगेर गयो’ रामले भने, ‘पापाले नारायण गोपालका गीतहरू साह्रै मन पराउनु हुन्थ्यो। टेप रेकर्डरमा बजाएर सुनिबस्नु हुन्थ्यो।’ प्रकाश घरिघरि आफैं पनि नारायण गोपालका गीत गुनगुनाउँथे।
पापाले लेखेका केही उपन्यासहरूलाई पुनः प्रकाशित गर्ने विचार गरिरहेको रामले बताए। पापालाई जवान युवतीहरूले लगभग ५० वर्षको उमेरमा पनि प्रेम पत्रहरू पठाउने गरेका घटनाहरूको सम्झना उनलाई अझै छ।
‘हामी चारजना दाजु-भाइ अनि दुईजना दिदी–बहिनीको जन्म भइसकेको थियो। हामी ठूल्ठूला भइसकेका थियौं। तरै पनि हाम्रा पापालाई केटीहरूले प्रेम पत्र लेख्थे। तर पापाले कहिल्यै पनि ती युवतीहरूलाई नराम्रो शब्द गरेर आफूदेखि टाढा भगाउने प्रयास गर्नुभएन। उल्टा तिनीहरूलाई सम्मानसाथ सम्झाउने गर्नुहुन्थ्यो। ‘एक समय एकैपल्ट चारजना युवतीले पापालाई प्रेम पत्र पठाएको घटना अझै ताजा छ’ रामले भने।
उनले भने, ‘पापाको खास नाम नरबहादुर राई हो। ‘कोविद’ हिन्दी साहित्यबाट प्राप्त भएको उपाधि। उहाँले ५५ वटा जति उपन्यास लेख्नुभयो, कैयन् कथा अनि कविताहरू पनि सिर्जना गर्नुभयो। तर पनि साहित्य क्षेत्रमा दिएका योगदानको कुनै मूल्याङ्कन भएन।’
सन् १९९२ मा बिरामी हुँदासमत दार्जीलिङका तत्कालीन प्रख्यात साहित्यकारहरू हेर्नसम्म पनि नआएको उनको गुनासो छ। गुमानसिंह चाम्लिङ, सिक्किमकी पूर्वसांसद दिलकुमारी भण्डारी मात्र स्थानीय प्लाण्टर्स अस्पतालमा हेर्न आएका थिए।
त्यही बेला भण्डारीले प्रकाशको अप्रकाशित कृति ‘प्रकाश ‘कोविद’ का प्रतिनिधि कथाहरू’ प्रकाशित गरिदिने वचन दिएकी थिइन्। सन् १९९४ मा त्यो पुस्तक प्रकाशित पनि गरिदिइन्। दुर्भाग्यवश प्रकाशले त्यो किताब हेर्न पाएनन्। राम अश्रुसरि भएर भन्छन्, ‘पापाको देहान्त भइसकेको थियो।’
–केपीजी दर्पण
