कमला-राजबहादुर गुठीद्वारा पुरस्कार र सम्मान
विराटनगर। कमला-राजबहादुर कुँवर सामाजिक सेवा गुठी विराटनगरले विभिन्न विधाका पाँच जनालाई पुरस्कृत तथा सम्मानित गरेको छ। साहित्यकार नारायण तिवारीलाई २५ हजार रुपैयाँसहितको कमला-राजबहादुर कुँवर साहित्य पुरस्कार प्रदान गरिएको छ।
यसैगरी, समाजसेवी जगतप्रसाद अर्जेललाई १५ हजार रुपैयाँको कमला-राजबहादुर कुँवर समाजसेवा पुरस्कार दिइएको छ। धार्मिक अभियन्ता प्रा. कृष्ण भण्डारीलाई १५ हजार रुपैयाँको कमला–राजबहादुर कुँवर धर्म-संस्कृति पुरस्कार तथा सङ्गीतज्ञ डा. लोचन रिजाललाई ११ हजार रुपैयाँको कमला-राजबहादुर कुँवर सङ्गीत पुरस्कार प्रदान गरिएको छ।
यसैगरी, इन्जिनियर धीरेन्द्र रौनियारलाई ११ हजार रुपैयाँको कमला-राजबहादुर कुँवर विज्ञान पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ।
गुठीले विराटनगरका पूर्वमेयर ध्रुबनारायण श्रेष्ठ, पूर्वउपमेयर उद्धव पौडेल, भगवान अधिकारी र पुष्प श्रेष्ठलाई सम्मान गरेको छ। सोही अवसरमा अरनिको बोर्डिङ स्कूलबाट १० कक्षासम्म अध्ययन गरेर चिकित्सा विज्ञानमा अध्ययनपछि ख्याति कमाउन सफल विभिन्न विषयका २८ जना डाक्टरहरूलाई पनि सम्मान गरिएको छ। संस्थाकी संरक्षक कमला कुँवरले उनीहरुको सम्मान गरेकी थिइन्।
संस्थाका अध्यक्ष दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) को अध्यक्षतामा भएको कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया प्रमुख अतिथिका रुपमा सहभागी थिए।
कार्यक्रममा गठीका संरक्षक रहिसकेका दिवंगत राजबहादुर कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा डा. शैलेशमणि पोखरेल, विवेक कुँवर, चूडामणि नेपाल, खगेन्द्र लामिछाने, सुभाष गोयल, विकास श्रेष्ठ, दीपेन्द्र अमात्य, विनय विष्णु केसी, इन्दिरा रिजाल, गङ्गा सुवेदी लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
