युवक र किशोरी मृत भेटिए

उदयपुर। उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक जना युवक र एक किशोरी बुधबार बिहान मृत अवस्थामा भेटिएका छन्।

प्रहरीका अनुसार अमलचौरीकी १४ वर्षीया मञ्जु राई र त्यहीँका २८ वर्षीय रबिन राई मृत अवस्थामा भेटिएका हुन्। प्रहरीले घटनालाई शंकास्पद मानेको छ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार मञ्जुको शव अमलचौरी गाउँको बाटोमा फेला परेको थियो। उनको शव भेटिएको करिब दुई सय मिटर पर रबिनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा मञ्जुको शरीरमा नीलडाम र घाँटीमा चोट देखिएको प्रहरीले जनाएकोे छ। उनी स्थानीय सिंहदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन्।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *