विराटनगरका विद्यालयहरू ३ दिन बन्द
विराटनगर। अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन लगायत गतिविधि गर्न कठिनाइ भएको भन्दै विराटनगरका विद्यालयहरु ३ दिनका लागि बन्द गरिने भएको छ।
विराटनगर महानगरपालिकाले सूचना जारी गर्दै यो जानकारी गराएको हो। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलद्वारा हस्ताक्षरित सूचनामा बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालित विद्यालयहरुको पठनपाठन जेठ २८ गते बुधबारदेखि ३० गते शुक्रबारसम्मका लागि बन्द गर्न सबै विद्यालयलाई सूचित गरिएको छ।
यस अवधिमा तापक्रममा गिरावट आएमा वा वर्षा भइ विद्यालय सञ्चालन गर्न अनुकूल भएमा नियमित पठनपाठनको व्यवस्था मिलाउन समेत महानगरपालिकाले अनुरोध गरेको छ।
यो वर्ष मनसुन साबिक समयभन्दा करिब दुई साताअघि नेपाल भित्रिएको भए पनि निस्क्रिय रहँदा पानी पर्न सकेको छैन। त्यसैले दिनदिनै तापक्रम बढिरहेको छ। मंगलबार विराटनगर र आसपास क्षेत्रको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
गर्मी अत्यधिक बढ्दा सार्वजनिक स्थलहरुमा सर्वसाधारणको चहलपहल निकै घटेको छ। गर्मीका कारण बिरामी परेर उपचारका लागि स्वास्थ्य संस्था जानेको संख्या भने बढिरहेको छ ।
यसैबीच, इटहरी उपमहानगरपालिकाले पनि नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ।
उपनहानगर क्षेत्रका सबै विद्यालयमा असार २८ गते बुधबारका गर्मी बिदा दिइएको भन्दै सूचना जारी गरिएको छ। वर्षे बिदाबाट कट्टी गर्ने गरी १ दिनका लागि बिदा दिइएको उपमहानगरको सूचनामा उल्लेख छ।
तापक्रम अत्यधिक बढ्दै गएपछि विद्यालय सञ्चालनमा कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै बिदा दिइएको उपमहानगरले जनाएको छ।
