परिवारै मिलेर युवतीको हत्या : ६ वर्षपछि अभियुक्त पक्राउ

विराटनगर । परिवारै मिलेर युवतीको हत्या गरिएको घटनामा संलग्न अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। हत्यामा संलग्नमध्ये विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ विराटनगर–१६ मा डेरा बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको ६ वर्षअघि हत्या भएको थियो।

प्रहरीका अनुसार भाडाको कोठामा बसेर पसलमा काम गर्दै आएकी ईशा एसराजका छोरा २१ वर्षीय रेम्बो भनिने रुद्रराज लामासँग प्रेम सम्बन्धमा थिइन्। रुद्रराजले नै घरमा बोलाएर परिवार समेतको मिलेमतोमा शरीरमा पेट्रोल छर्किएर ईशालाई २०७६ वैशाख ८ गते आगो लगाइदिएका थिए।

गम्भीर घाइते उनको उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा मृत्यु भएको थियो। घटनापछि रुद्रराज, उनका बुवा एसराज र आमा फरार थिए। प्रहरीले २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।

फरार रहेकामध्ये एसराज पक्राउ परेका हुत्। रुद्रराज र उनकी आमा हालसम्म फरार छन्। युवतीको हत्यापछि रुद्रराज विदेश पुगेको जानकारी प्रहरीले प्राप्त गरेको छ। उनलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाउने तयारी गरिएको प्रहरीले जनाएको छ। आमा कहाँ छिन् भन्ने खुलेको छैन।

पक्राउ परेका एसराजविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *