सही तरिकाले प्रश्नपत्र नबनाइँदा विद्यार्थीको मूल्यांकन र गुणस्तरमा असर
काठमाडौं। सबै खाले विद्यालयका शिक्षकहरूमा पाठ्यक्रम अनुसारको प्रश्नपत्र नबनाइँदा विद्यार्थीको मूल्यांकन र गुणस्तरमा प्रभाव पर्ने गरेको छ। प्रश्नपत्र निर्माणका क्रममा हुने अन्योलका कारण यस्तो भएको हो।
प्रश्नपत्र निर्माण मात्र होइन उत्तरपुस्तिका परीक्षणमा एकरूपता नहुँदा विद्यार्थीको मूल्यांकनदेखि सिकाइसम्मै प्रभाव पर्ने गरेको छ।
यो अवस्थालाई हटाएर प्रश्नपत्रमा एकरूपता ल्याउने प्रयास गरिएको छ। माध्यामिक तहका शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणबारे प्रशिक्षण दिएर यो पहल थालिएको हो।
पाठ्यक्रमको विषयगत विशिष्ट उद्देश्यअनुरूप ज्ञान, बोध र दक्षताका आधारमा प्रश्नपत्र निर्माण गर्नुपर्छ तर अधिकांश शिक्षकहरूमा प्रश्नपत्र निर्माणमा आधारभूत ज्ञानको अभाव रहेको जनाइएको छ।
काठमाडौ उपत्यकाका २५० भन्दा बढी माध्यमिक तहका शिक्षकलाई प्रश्नपत्र निर्माणको प्रशिक्षण दिइएको छ। अँग्रेजी, गणित, नेपाली, विज्ञान, सामाजिक र ऐच्छिक विषयका ६ वटासमेत गरी ११ वटा विषयको प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणसम्बन्धी ज्ञान दिइएको हो। प्रशिक्षणपछि प्रश्नपत्र निर्माण र मूल्यांकन प्रक्रियामा देखिएको अन्योल हट्ने अपेक्षा गरिएको छ।
परीक्षाको स्तर र एकरूपताले विद्यार्थीको मूल्यांकनदेखि शिक्षण सिकाइमा सुधार आउने विज्ञहरू बताउँछन् । प्रशिक्षणका सहजकर्ता नारायणकाजी काशिव्छाका अनुसार पाठ्यक्रमअनुरूप विषयगत प्रश्न बनाउँदा २५ प्रतिशत सजिलो, २५ प्रतिशत गाह्रो र ५० प्रतिशत मध्यम खालको बनाउनुपर्छ।
प्रशिक्षणमा सहभागी शिक्षिका मञ्जु राई विषयगत रुपमा प्रश्न बनाउने कुराबारे यसअघि उति जानकारी नभए पनि प्रशिक्षणपछि धेरै जानकारी पाएको बताउँछिन्।
शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद निरौलाका अनुसार संस्थागत रुपमा प्रश्नपत्र तयार पार्ने अनि सीमित शिक्षकहरु मात्र सहभागी हुने गरेका छन्। अधिकांश शिक्षक त्यो प्रक्रियाबाट वञ्चित हुने भएकाले समस्या देखिएको उनको भनाइ छ ।
प्रश्नपत्र निर्माण प्रक्रियामा सबै शिक्षकहरुलाई सहभागी गराएर अघि जाने हो भने कक्षा कोठाको शिक्षण सिकाइमा सुधार आउँछ’ निरौलाले भने, ‘यो गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण कुरा हो।’
प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी अप्ठ्यारो प्रश्न नै सोध्नुपर्छ भन्ने होइन तर राम्रोसँग प्रश्नपत्र बनाउने भन्ने कुरा धेरै महत्वपूर्ण हुने बताउँछन्।
