रास्वपाको प्रश्न : सडक निर्माणमा ढिलासुस्ती किन ?

इलाम। केचना-कञ्चनजंगा मेची कोरिडोरसहित विभिन्न सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), इलामले चासो देखाएको छ। ढिलासुस्ती हुँदा गम्भीर ध्यानाकर्षण भएको भन्दै उसले यथाशीघ्र काम निरन्तर अघि बढाउन माग गरेको छ।

केचना-कञ्चनजंगा मेची कोरिडोर सडक निर्माण परियोजना जस्तो अत्यन्तै महत्वपूर्ण रणनीतिक पूर्वाधार परियोजनामा ढिलासुस्ती गरिनुले योजना अलपत्र पर्ने आशंका पार्टीले गरेको छ।

उक्त सडक परियोजना पूर्वी नेपालका दुर्गम क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मात्र नभइ पर्यटकीय तथा व्यापारिक सम्भावनाको ढोका खोल्ने रास्वपाले जनाएको छ।

यसैगरी, समग्र क्षेत्र र भूगोलको सामाजिक-आर्थिक उत्थान गर्ने आधार स्तम्भका रुपमा रहेको उक्त सडक केही वर्षदेखि बजेट अभाव, निर्माण व्यवसायीको लापरवाही र सम्बन्धित निकायहरुको अनुगमन अभावमा अलपत्र परेको जनाइएको छ।

इलाम-माबु-सन्दकपुर सडक, दमक-रवि सडक, राँके-रवि-भेडेटार सडक, नेपालटार-मंगलबारे सडक र मेची राजमार्गको निर्माण एवं मर्मत सम्भारको काम पनि दयनीय रहेको पार्टीको भनाइ छ। ‘राज्य नै नभए जस्तो दयनीय र केही काम भए जस्तो देखिए पनि ती सडकको काम एकदमै सुस्त देखिएको छ’ पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ती सबै सडक निर्माण र मर्मतसम्भारको काम निर्बाध रुपमा अघि बढाउन तीन तहको सरकार तथा सरोकारवालहरुसँग माग गरिएको छ।

रास्वपा इलामले जारी गरिएको विज्ञप्तिमा भनिएको छ–

नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएका काम र दैनिक जीवनयापनमा लाभान्वित हुन सक्ने यी र यस्ता विकास निर्माणका कार्यहरुमा भएका ढिलासुस्ती र लापरवाहीको निष्पक्ष छानबिन गरी दोषी उपर तत्काल कारवाही प्रक्रिया अगाडि बढाइयोस्।

सडक निर्माणको प्रगति सार्वजनिक गरी स्थानीय जनतालाई नियमित जानकारी दिइयोस्।

आवश्यक बजेट तत्काल विनियोजन गरी निर्माण कार्यलाई तीब्रता दिइयोस् ।

स्थानीय नागरिकको सहभागिता र निगरानी बढाइ गुणस्तरीय कामको सुनिश्चितता गरियोस्।

राष्ट्रिय स्वतन्त्र पार्टी इलामले नागरिकको हरेक आवाज प्रति सम्वेदनशील रही जिम्मेवार राजनैतिक दलको रुपमा उठाउने प्रतिवद्धता व्यक्त गर्दै सडक निर्माण जस्तै हरेक विकास आयोजनामा हुने कुनै पनि ढिलासुस्ती माफितुल्य नरहेको जानकारी गराउदछौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *