आमाको गीत (झ्याउरे भाका)

जाँतोलाई घुरूरू ढिकीलाई ढुकढुक
झिसमिसे साँझलाई
न जुन रातलाई न घाम दिनमा सम्झिनु आजलाई
आमा सम्झिनु आजलाई।

सगरलाई हेरी पटुकी बेरी
पर्खिनु घामलाई छाँयामा बाँधेर
म आउला फेरि आँगन नै हेरी सम्झना साँचेर
आमा सम्झना साँचेर।

बढ्ला नि बाढी खहरे खोला
बर्खाको भेलैमा
अस्ताउला साँझ बेंसीकै माझ खेतीको मेलैमा
आमा खेतीको मेलैमा।

आएन दसैँ, फुलेन तिहार
के आउला तीज पनि
घरको न माइती भएनन् कोही दुःखैको बीच पनि
आमा दुःखैको बीच पनि।

न बोल्छ घाम, न बोल्छ जून,
बोल्दैनन् तारा नि
मनैका मान्छे परदेशी भए एक्लो छ सारा नि
आमा एक्लो छ सारा नि।

उकाली गर्छु, ओराली झर्छु
बेंसीलाई धाएको
न घरको पिँढी, न माइतीतिरै खै सुख पाएको
आमा खै सुख पाएको।

कर्मको खेल कि भाग्यको झेल
बिझाउँछ सिरानी
किर्किटी तारा विलाइ गए भएन नि विहानी
आमा भएन नि बिहानी।

जाँतोलाई घुरूरू ढिकीलाई ढुकढुक
झिसमिसे साँझलाई
न जुन रातलाई न घाम दिनमा सम्झिनु आजलाई
आमा सम्झिनु आजलाई।

(संगिनी गीतझैँ लाग्ने यस्ता झ्याउरे भाका, भाव र भावना अझै पनि छन् होला गाँउघरतिर। उहिले ढिकी–जाँतो, उकाली–ओराली र मेलापातमा यस्ता भाका सुनिन्थे।)

खर्कको माया (गीत)


प्रतिक्रिया

One thought on “आमाको गीत (झ्याउरे भाका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *