खर्कको माया (गीत)
डाँडैमा लगी उडाऊ है कान्छा बुन्दिउँला फिरफिरे
सम्झना आए पठाउनु यतै हावा छ सिरसिरे।
छाडेर जानु थिएन मन बोलायो गोठैले
टाढा छ जिउ, कसरी दिउँ दुख्दछ चोटैले।
नागीको चौरी चराइ बस्नु जाला नि हराइ
माया छ मनमा सौ पाथी मुरी नमान्नु पराइ।
सिम्बुवा खोला बगेर जान्छ तमोर छेक्नलाई
बगीमा आउँ कि सुसेला हाल्दै उतै पो भेट्नलाई।
मेमेलाई सोधी म आउँला खर्क आप्पाको गोठमुनी
देउराली सिरान भेटौंला कान्छा गुराँसको बोटमुनी।
गुराँसै फुल्यो, फुल्यो नि चिमाल हिमालै छेकेर
लेख्यो कि छैन भावीले कान्छी के गर्नु देखेर।
मालिङ्गो काटी चोया है बाटी सेउलीको गोठैमा
सम्झना आए बिरह गाउनु बिनायो ओठैमा।
भेडा र बाख्रा खेदाउँदै पाखा लुकुनी ओढौंला
भाग्यले साथै पारेमा कान्छी पिरती जोडौंला।
डाँडैमा लगी उडाऊ है कान्छा बुन्दिउँला फिरफिरे
सम्झना आए पठाउनु यतै हावा छ सिरसिरे।
प्रतिक्रिया

आहा कति सुन्दर राम्रो गीत। विष्णु सर काे अन्य यस्ता गीत हरु गायक काे मुख बाट पनि चाडै सुन्न पाइयोस्।
Thank you, Sir!