नोट छाप्ने मेसिन र लाखौं रूपैयाँसहित युवक पक्राउ

झापा। तेह्रथुमका एक युवकले आफ्नो कोठामा मेसिन राखेर नक्कली नेपाली नोट छाप्ने गरेको फेला परेको छ। कोठामा उनले नोट छाप्ने कागज, रङ जस्ता आवश्यक अन्य ‘कच्चा पदार्थ’ समेत राखेको पाइएको छ।

त्यसरी नक्कली नोट छाप्ने २८ वर्षीय गणेश भारतीलाई प्रहरीले पक्राउ गरेको छ। तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ घर भएका उनी झापाको कन्काइ नगरपालिका–८ लक्ष्मीपुरमा डेरा बस्दै आएका थिए।

उनलाई ४ दिनअघि मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बजारबाट प्रहरीले पक्राउ गरेको थियो। शंकास्पद अवस्थामा हिंडिरहेको देखेपछि प्रहरीले जाँच गरेको थियो। त्यस क्रममा उनीसँग १ हजार दरको १ लाख नक्कली नेपाली रुपैयाँ (खोटा मुद्रा) फेला परेको थियो।

त्यसपछि प्रहरी टोलीले थप अनुसन्धान गरेको थियो। ती नोट उनी आफैंले छापेको खुलेको छ। अनुसन्धानका क्रममा आज शुक्रबार प्रहरी निरीक्षक राजकुमार कार्की सहितको टोलीले उनको कोठाको तलासी गरेको थियो।

कोठामा विभिन्न दरका ५ लाखभन्दा बढी नक्कली रुपैयाँ फेला परेको थियो। प्रहरीले नोट छाप्ने मेसिन बरामद गरेको छ । नोट छाप्न प्रयोग गरिने विभिन्न खालका रङहरु पनि बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी, कैंची, नोट छाप्ने कागज, मोबाइल फोन जस्ता सामग्री पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतीको कोठाबाट हजार दरका ४ लाख ७० हजार, ५ सय दरका १ लाख ४१ हजार, १ सय दरका १९ हजार, ५० दरका ६ सय र २० दरका नोट ४ वटा बरामद गरिएको प्रहरीले जनाएको छ।

झापा जिल्ला अदालतबाट म्याद थप गरी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *