‘स्नातक तहमा भर्ना रोकेर विद्यार्थीमाथि अन्याय’

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना रोकेर विद्यार्थीहरूलाई मर्कामा पारेको स्वतन्त्र विद्यार्थी युनियनहरुले गुनासो गरेका छन्। ती युनियनका नेताहरुले यसो गर्नु विद्यार्थीमाथि अन्याय भएको बताएका छन्।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नाममा २०८१ माघ ११ गतेदेखि भर्ना रोकेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको उनीहरुको आरोप छ।

त्रिविबाट सम्बन्धन लिएका निजी क्याम्पस र केही सामुदायिक क्याम्पसहरूले अहिले पनि स्नातक तह प्रथम वर्षमा भर्ना लिइरहेको उनीहरुको भनाइ छ। आंगिक क्याम्पसहरूमा भने माघ ११ देखि नै भर्ना रोकिएकाले समस्या भएको जनाइएको छ।

शंकरदेव क्याम्पस स्ववियु सचिव मदनराज उपाध्यायले करिब ५ हजार विद्यार्थीले भर्ना हुन नपाएको अवस्थामा विश्वविद्यालयले भर्ना खोल्नुपर्ने बताए।

‘भर्ना खोल्नुपर्छ’ उनले भने, ‘चारदेखि पाँच हजार विद्यार्थीले भर्ना हुन पाएका छैनन्। अरु बेला अर्काे वर्ष भदौमा परीक्षा हुँदा साउनसम्म भर्ना हुन पाउँथे । ब्याचलरमा सेमेष्टार सिस्टम पनि छैन, जतिबेला पनि भर्ना हुन पाउँछन्।’

शंकरदेव क्याम्पसमा विगतमा ३ देखि ४ हजार विद्यार्थी स्नातक तहमा भर्ना हुने गरेकोमा अहिले १ हजार ५ सय विद्यार्थीमात्रै भर्ना भएको उनले बताए। त्रिविका भिसी, रेक्टर र रजिष्टारले एकतन्त्रीय शासनजस्तो गरी भर्ना रोकेको विद्यार्थी नेताहरुको आरोप छ।

शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेत, पब्लिक युथ क्याम्पस नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, कैलाशकुट क्याम्पसका स्ववियु सभापति सुवर्ण गौतम, भक्तपुर क्याम्पसका स्ववियु सभापति पुकार पराजुली, थली क्याम्पसका अंशु फुँयाललगायतका विद्यार्थी नेताहरुले भर्ना खोलेर सहज गरिदनुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *