भारतबाट फर्किएका ३ जनामा कोरोना, सतर्कता अपनाउन सुझाव
काठमाडौं। भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका ३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो।
उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ। कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ।’
कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।
उनले भने, ‘कोभिड पुष्टि भएका तीन जनाको स्याम्पल पठाएका छौँ। पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड सङ्क्रमण भए नभएको पत्ता लगाउने किटको अभाव छ।
भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै नाकामा सतर्कता अपनाइएको छ।
खुला सिमाना भएकाले नेपाल र भारत आउजाउ गर्नेहरुको संख्या उल्लेख्य हुने गरेको छ। भारतमा दिनहुँ संक्रमितको संख्या बढिरहेको अवस्थामा नेपालमा पनि सतर्कता अपनाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन्।
काँकडभिट्टा, विराटनगरलगायत पूर्वी नाकादेखि पश्चिमसम्म सबै नाकाहरुमा सतर्कता अपनाउनु पर्नेमा उनीहरुको जोड छ।
