नेपालले लाओस र हङकङविरुद्ध खेल्ने
विराटनगर । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। टोलीले एएफसी च्यम्पियनसिप छनोटमा लाओसविरुद्ध खेल्नेछ।
लाओसविरुद्धको एएफसी च्याम्पियनसिप छनोट र हङकङविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने टोलीलाई बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीलाई जितको शुभकामनासहित बिदाइ गरेको हो ।
हङकङ फुटबल संघको निमन्त्रणामा हुन लागेको यो मैत्रीपूर्ण खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत पर्नेछ। नेपालले यसअघि गत मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो। जसमा नेपाल २-० ले पराजित भएको थियो।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा आयोजित विदाइका क्रममा एन्फाले २३ जना खेलाडी, प्रशिक्षक, टोली म्यानेजरलाई विदाइ गरेको हो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले टोलीलाई जितको शुभकामना दिए। राष्ट्रले खेलाडीको बृत्ति विकासदेखि आर्थिक पाटोमा समेत सक्षम बनाउँदै लगेको उनले बताए।
एन्फाका महासचिव किरण राईले फुटबलप्रतिको गलत भाष्य र नकारात्मक कुरालाई चिर्न टोलीले मैदानमा शतप्रतिशत दिने विश्वास लिए। खेलाडीहरुलाई शुभकामना दिदैं महासचिव राईले ३ करोड जनताबाट छानिएर राष्ट्रिय टोलीमा समावेश भएका खेलाडीहरुले दुवै राष्ट्रविरुद्धको खेलमा जित हात पार्ने अपेक्षा गरेको बताए।
विदेशी प्रशिक्षकको साथमा खेलाडीहरुमा समेत ऊर्जा थपिएको बताउँदै उनले फुटबलले सबै नेपालीको मन जितिरहेको उल्लेख गरे। किरण चेम्जोङको नेतृत्वमा रहेको टोलीले हङकङविरुद्ध जुन ५ मा मैत्रीपूर्ण खेल खेल्नेछ।

कप्तान चेम्जोङले करिब एक महिनाबाट राखिएको बन्द प्रशिक्षणले ऊर्जा थपेको बताए। हङकङ र लोओसविरुद्धको खेलमा आफूहरुले जितका लागि खेल्ने उनले बताए।
त्यसपछि जुन १० मा एएफसी च्याम्पियनसिप छनोट अन्तर्गत लाओससँग स्पर्धा गर्नेछ। टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका टम रस, सहायक प्रशिक्षकमा सल्यान खड्गी, गोलकिपर प्रशिक्षकमा विनोद डंगोल, टोली म्यानेजरमा टंक राई, सहायक म्यानेजरमा केशव कार्की र अफिसियलमा दिपेन्द्र धिमाल छन्।
