७ सय शिक्षकका लागि ५८ हजार परीक्षार्थी
काठमाडौं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुलातर्फ ७ सय रिक्त दरबन्दीका लागि लिएको परीक्षामा ५८ हजार जना सहभागी भएका छन्।
लामो समयपछि विज्ञापन खोलिएकाले धेरै जनाको सहभागिता भएको हो। सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि योग्य शिक्षक छनोट गर्ने उद्देश्यले शिक्षक सेवा आयोगले गत शनिबार निम्न माध्यमिक तहको खुलातर्फका लागि परीक्षा लिएको थियो।
परीक्षाका लागि देशभरमा २३२ केन्द्र तोकिएको थियो। सबैमा गरी ७ सय पदका लागि ५८ हजार जना सहभागी भएका हुन्। यो मागभन्दा ८३ गुणाले बढी हो।
शिक्षक सेवा आयोगका अध्यक्ष मधुसुदन रेग्मी परीक्षामा भएको सहभागिता उत्साहजनक रहेको बताउँछन्। यसबाट योग्यमध्ये पनि योग्यलाई छनोट गर्न सकिने उनको भनाइ छ।
समयमै पदपूर्ति हुन नसक्दा विद्यालयको पठनपाठनमा असर पार्ने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत निकायले यसमा ध्यान दिनुपर्ने रेग्मी बताउँन्।
२०७५ सालको दरबन्दी मिलान प्रतिवेदनले देशभरका सामुदायिक विद्यालयमा ५७ हजार शिक्षक आवश्यक रहेको देखाएको थियो। त्यसअनुसार सरकारले शिक्षक भर्ना प्रक्रिया निरन्तर रुपमा अघि बढाउनु पर्ने हो। तर त्यसो हुन सकेको छैन।
गत वर्ष प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि केही संख्यामा विज्ञापन गरिएको थियो। यो वर्ष निमावि तहका लागि जम्मा ७ सय पदपूर्ति गर्न लागिएको हो। प्रतिवेदनले सबैभन्दा बढी प्राथमिक तहमा शिक्षक आवश्यक रहेको औंल्याएको थियो। प्रावि तहमा हरेक वर्ष ५ हजार शिक्षक दरबन्दी रिक्त हुने गर्छ।
शिक्षक सेवा आयोगका अनुसार शिक्षक लाइसेन्स लिएर बसेकाको संख्या झन्डै ११ लाख पुगेको छ। दरबन्दी मिलान प्रतिवेदनले निमावि र माविमा धेरै दरबन्दी अभाव रहेको र नयाँ थप्नुपर्ने सुझाव दिए पनि कार्यान्वयन गर्न सरकारले ध्यान दिएको छैन।
