कुकुरलाई बोकाएर जोगबनीबाट लागुऔषध ओसार्ने पक्राउ
विराटनगर। लागुऔषध ओसारपसार गर्न कुकुरको प्रयोग गरेको पाइएको छ। प्रहरीलाई छल्न कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार गरेको खुलेको हो।
यस्तो काममा संलग्न मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारीलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको छ। उनले भारतको जोगवनीबाट कुकुरलाई प्रयोग गरी लागुऔषध ल्याउँदै थिए।
प्रहरीले उनलाई विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट कुकुरसहित पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख सुवास अधिकारीको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्युरोको टोली नेपाल–भारत सीमा क्षेत्रमा निगरानीमा रहेका बेला भण्डारी शंकाको घेरामा परेका थिए।
जाँच र सोधपुछ गर्दा कुकुरको घाँटीमा बाँधेको पेटीभित्र लुकाएर ल्याएको ब्राउन सुगर फेला परेको हो। नाइट्राजेपाम नामको लागुऔषध पनि बरामद गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मान्छेले बोक्दा प्रहरीले पत्ता लगाउने ठानेर भण्डारीले कुकुर प्रयोग पाइएको छ।
प्रहरीका अनुसार कुकुर डोहोर्याउँदै सीमापारि जाने अनि त्यसलाई बाँधेको पेटीमा लुकाएर लागुऔषध ओसार्ने गरेको पाइएको छ। त्यसरी आउजाउ गर्दा प्रहरीले शंका नगर्ने भण्डारीले ठानेका थिए। प्रहरीले उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने भएको छ।
