दुर्घटनामा २ जना शिक्षक गुमाएपछि शोकमा डुब्यो विद्यालय

काठमाडौं। मकवानपुरको थाहा नगरपालिका–३ मा सोमबार बेलुका भएको बस दुर्घटनामा दुई जना शिक्षकको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

थाहा नगरपालिका–३ नेपाल विद्युत प्राधिकरणको कार्यालय नजिकै भएको दुर्घटनामा सप्तरी विष्णुपुर–५ लोकेन्द्रकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो। उनी उक्त विद्यालयमा नेपाली विषय पढाउँथे।

दुर्घटनामा सिराहाको औराही नगरपालिकाका ३३ वर्षीय रघुनन्दन यादव गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो। उनी विज्ञान विषयका शिक्षक थिए। स्कुलमा पढाइसकेर साँझ पैदल गइरहेका उनीहरुलाई बसे ठक्कर दिएको थियो।

दुर्घटनामा दुई जना शिक्षक गुमाउनु परेपछि थाहा नगरपालिका–१ स्थित झम्केश्वर माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरु शोकमा परेका छन््।

दुर्घटनामा बारा जितपुरका ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराकै कोल्बिका ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन्। दुवैजना उक्त विद्यालयका गणित विषयका शिक्षक हुन्। उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जना शिक्षक गुमाउनु परेपछि विद्यालय अहिले शोकमा डुबेको  विद्यालयका गणेशमान श्रेष्ठले बताए। दुवै शिक्षक मिलनसार रहेको साथै विद्यार्थी, अन्य शिक्षक र कर्मचारीबीच लोकप्रिय भएको सुनाउँदै उनले विद्यालय परिवारलाई अपूरणीय क्षति पुगेको बताए। विद्यालयमा १८ जना शिक्षक र २ सय ५५ जना विद्यार्थी छन्। शिक्षकद्वयको निधनमा थाहा नगरपालिका अन्तर्गतका सबै विद्यालयमा मंगलबार पठनपाठन बन्द गरिएको छ।

दुर्घटनामा थाहा नगरपालिकास्थित मालपोत कार्यालयका लेखनदास थाहा नगरपालिका–९ चित्लाङका ४० वर्षीय लेखापढी व्यवसायी कृष्ण बलामीको पनि मृत्यु भएको छ। मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेशकुमार साह घाइते भएका छन्।

शिखरकोट बजारबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर उनीहरूलाई ठक्कर दिएको थियो। त्यस क्रममा शिक्षकहरु बसको चक्काले किचिएका थिए। बस चालक मकवानपुर थाहा नगरपालिका–५ बसन्त २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *