प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति आइन्दा नदोहोरियोस् : गगन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन्। प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति दोहोरिनु नहुने पनि उनले बताएका छन्।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कल्पना पनि गरिँदैन। त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो। त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस्।’

प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको महामन्त्री थापाले बताए। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले शनिबार गोदावरीमा पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए।

त्यही अभिव्यक्तिलाई लक्षित गर्दै थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। यसअघि राजावादीहरुको संस्था र अन्य नेताहरुले पनि प्रधानमन्त्रीको अभिव्यक्ति पद सुहाउँदो नभएको भनेर आलोचन गरेका छन्।

जेठ १५ गते राप्रपा, राप्रपा नेपाललगायत दल र विभिन्न राजावादी संघसंस्थाले राजतन्त्र पुनःस्थापना, संघीयता खारेजी, हिन्दूराज्य लगायतका माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र संविधानविपरीत : राजावादी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *