सगरमाथा चुचुरोमा पाँचौँ पटक पूर्णिमाका पाइला
काठमाडौं। पूर्णिमा श्रेष्ठले पाँचाँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन्। फोटो पत्रकार श्रेष्ठ यो सफलतापछि आज शुक्रबार बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौं फर्किएकी छन्।
आइतबार बिहान ३ः३७ बजे उने पाँचौँ पटक सगरमाथा शिखरमा पाइला पुर्याएकी हुन्। ‘सतोरी एड्भेञ्चर प्रालि’ मार्फत उनी आरोहणका लागि गएकी थिइन्।
गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएकी थिइन्। मे १२, १९ र २५ मा उनले लगातार सगरमाथाको आरोहण गरेकी थिइन्।
उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटुसहित ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरि लगायतका हिमाल आरोहण गरिसकेकी छन्।
पूर्णिमा गत वर्ष सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी थिइन्। उनी सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी हुन्।
