शिक्षक-कर्मचारीको हाजिरी ‘आन्दोलनमा सहभागिता’
विराटनगर। शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राखेर भएको आन्दोलनमा सहभागी शिक्षकहरूलाई उपस्थिति पुस्तिकामा ‘आन्दोलनमा सहभागिता’ लेख्न आग्रह गरिएको छ।
आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघले यस्तो आग्रह गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अवधिका दिनको हाजिर गर्न उपस्थिति पुस्तिकामा ‘ने.शि. महासंघको आयोजनामा भएको काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनमा सहभागिता’ जनाउन आग्रह गरेका छन्।
माग पूरा गराउन दबाबस्वरुप विद्यालय शिक्षक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए। उनीहरुले गत चैत २० गतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरेका थिए।
चैत १७ गतेसम्म काठमाडौंमा शिक्षक–कर्मचारीले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रहरीसँग पटकपटक झडप समेत भएको थियो। शिक्षक र सरकारबीच वार्ता भइ माग पूरा गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको थियो।
महासंघ अध्यक्ष सुवेदीले लेखेका छन्–
२०८१ चैत २० बाट २०८२ वैशाख १७ गतेसम्म काठमाडौंमा भएको ने. शि. महासंघको शैक्षिक सडक आन्दोलन अवधिलाई आफ्नो उपस्थिति पुस्तिकामा ‘ने.शि. महासंघको आयोजनामा भएको काठमाडौं केन्द्रित शैषिक आन्दोलनमा सहभागिता’ जनाउनु हुन अनुरोध छ।
