समतामा विद्यार्थीबीच लोकतान्त्रिक अभ्यास

विराटनगर। समता स्कुल पूर्वी कन्सोर्टियम अन्तर्गतका तीन विद्यालयहरुमा शैक्षिक सत्र २०८२ का लागि विद्यार्थी नेतृत्व निर्वाचन प्रक्रियामार्फत् चयन गरिएको छ।

विद्यार्थीहरुको नेतृत्व क्षमता र लोकतान्त्रिक चेतना विकासमा यो प्रक्रियाले सकारात्मक प्रभाव पारेको छ।

इटहरी, लहान र इलामका समता स्कुलहरुमा एकैसाथ आयोजित निर्वाचनमा विद्यालयका क्याप्टेन, उपक्याप्टेन, सदन क्याप्टेन र कक्षा क्याप्टेन पदहरुका लागि विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका थिए।

यस वर्षको निर्वाचनमा पहिलेभन्दा फरक विधि अपनाइएको थियो। निर्वाचनका करिब ९० प्रतिशत क्रियाकलापहरु विद्यार्थी स्वयंले व्यवस्थापन गरेका थिए।

उम्मेदवारी दर्तादेखि प्रचारप्रसार, मतदान, मतगणना, र नतिजा प्रकाशन सम्मका प्रक्रियाहरु शिक्षकहरुको निगरानीमा विद्यार्थीले नै कुशलतापूर्वक सम्पन्न गरेका थिए।

यो प्रक्रियामा सहभागी विद्यार्थीहरुले विद्यालयमा पढाइमात्र होइन, सामाजिक र लोकतान्त्रिक मूल्य मान्यता बुझ्ने र व्यवहारमा उतार्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्।

विद्यार्थी नेतृत्व निर्वाचन २०७४ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ। समता स्कुल पूर्वी कन्सोर्टियमका प्रमुख सन्तोष श्रेष्ठ विद्यार्थीहरुको चौतर्फी विकासका लागि यस्ता अभ्यासहरू अत्यन्त महत्वपूर्ण हुने बताउँछन्।

‘हाम्रो मुख्य लक्ष्य विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास गर्नुका साथै भविष्यका लागि सक्षम एवं जिम्मेवार नागरिक तयार पार्नु हो’ उनले भने।

कन्सोर्टियमले पाँच वर्षदेखि आफ्नो वार्षिक कार्यतालिकामा विद्यार्थी परिषद निर्वाचनलाई अनिवार्य कार्यक्रमको रुपमा समावेश गर्दै आएको छ।

कन्सोर्टियम प्रमुख श्रेष्ठका अनुसार विद्यालयभित्रका गतिविधिका अतिरिक्त १९ विभिन्न विधामा अन्तर जिल्लास्तरीय प्रतिस्पर्धात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिंदै आएको जानकारी दिए।

ती कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउन, प्रतिभा प्रस्फुटन गर्न र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उनको अनुभव छ।

निर्वाचित प्रतिनिधिहरूलाई छिट्टै औपचारिक रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गराइने जनाइएको छ। उनीहरूलाई चालु शैक्षिक सत्रभर विद्यालयको नेतृत्वदायी भूमिकामा सक्रिय रुपमा संलग्न गराइने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *