नयाँ कृषि ऐन : वैदेशिक लगानी भित्र्याउन सकिने

काठमाडौं। सरकारले नयाँ कृषि ऐन ल्याउने भएको छ। कृषि व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिने प्रावधानसहित ऐन ल्याउने तयारी गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिसकेको छ। कृषि व्यवसाय प्रवर्द्धनमा तीनै तहका सरकारका कार्यक्रममा दोहोरोपना हटाउने उद्देश्य पनि उक्त ऐनको हुने जनाइएको छ।

विधेयकको मस्यौदामा कृषि व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिने उल्लेख छ। हाल नेपालमा कृषि क्षेत्रमा वैदेशिक लगानी गर्न पाइँदैन।

मस्यौदाको दफा १० को उपदफा २ मा कृषि अनुसन्धान, प्रविधि विकास र बीउ बिजन, नश्ल, स्रोत केन्द्र स्थापना गर्ने व्यवस्था छ। मस्यौदामा ७५ प्रतिशतभन्दा बढी उत्पादन निर्यात गर्ने प्राथमिक कृषि उत्पादनसम्बन्धी व्यवसायमा वैदेशिक लगानी लिन सकिने पनि भनिएको छ।

मन्त्रालयका सचिव दिपक खरालका अनुसार कृषि क्षेत्रको प्रवर्द्धनका लागि संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा एकरुपता ल्याउन, कृषियोग्य जमिनको संरक्षण र उपयोग गर्न तथा र कृषि व्यवसायमा लगानीदेखि खाद्य सुरुक्षाका आम विषय सम्बोधन गर्न नयाँ कानुन ल्याउने गृहकार्य भइरहेको छ।

विधेयकको प्रस्तावित मस्यौदामा कृषि उपजको ढुवानीमा दोहोरो कर लगाउन नपाउने, कृषि क्षेत्रमा निजी क्षेत्रको संलग्नता अभिवृद्धि गर्ने, किसानको वर्गीकरण, कृषि जैविक विविधता संरक्षण, कृषि उत्पादनको मूल्य तोक्ने र सामूहिक जमानीमा ऋण प्रवाह लगायतको व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *