विश्वकप छनोटः नेपालले बहराइनलाई हरायो

काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको खेलमा नेपालले बहराइनलाई पराजित गरेको छ। शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो। शुक्रबार हङकङसँगको निर्धारित खेल भने रद्द भएको थियो।

वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा बनाइन्।

टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो। कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन्। बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो।

शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो। नेपाल र हङकङले १–१ अंक बाँडेका थिए। नेपालले मंगलबार हङकङसँग खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *