बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत घरमै मृत भेटिए

झापा। झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन्। शुक्रबार बिहान घरमै उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै घरमा आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

इलामको साँखेजुङ पुर्ख्यौली घर भएका ५२ वर्षीय बस्नेत खेलकुद क्षेत्रमा सक्रिय थिए। बस्नेत थुप्रै सामाजिक तथा व्यवसायिक संस्थामा आबद्ध थिए। उनी झापा गोल्डकपका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, ‘एकका लागि एक अभियान’ का सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव थिए। यस्तै, उनी सयपत्री ट्रेड लिङ्क लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत थिए।

लामो समयदेखि जेसीज अभियानमा क्रियाशील उनी वीरता जेसीजका पूर्वअध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष थिए। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानमा पनि उनी आबद्ध थिए। कोरोना महामारीका बेला पनि उनले प्रभावितहरूलाई सहयोग गर्न अग्रसरता देखाएका थिए।

बस्नेतकी श्रीमती र एक छोरी छन्। श्रीमती कोपिला बस्नेत अधिवक्ता हुन्। छोरी विभूति एमबीबीएसमा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ।

घटनाबारे जानकारी पाएका उनका आफन्त, साथीभाइ र शुभेच्छुकहरूले दुःख प्रकट गरेका छन्। एक्कासि अकल्पनीय खबर सुन्नु परेको भन्दै उनीहरूले सक्रिय प्रतिभाशाली युवालाई गुमाउनु पर्दा पीडा भएको उल्लेख गरेका छन्।

घटनापछि बस्नेतको घर पुगेका शुभेच्छुक। तस्बिर साभारः प्रतिदिन

कांग्रेस नेता कृष्ण हुमागाईंले फेसबुक पेजमा घटना थाहा पाएर दुःखी भएको भन्दै यस्तो लेखेका छन्–

‘भावपुर्ण श्रद्धाञ्जली भाइ। प्रिय बिनोद भाइ अप्रत्यासित खबरले अत्यन्तै दुःखी छु। किन यस्तो अकल्पनीय काम गर्यौ नि। जे गर्यौ, बहुत गलत निर्णय भयो भाइ। तिमीलाई यो अवस्थामा पुर्याउनेको खोजी र छानबिन होस्। एउटा हिम्मतिलो युवाले यत्तिकै यस्तो कठोर निर्णयमा पुगेन भन्ने लाग्छ।’

यसैगरी, उनका शुभेच्छुक कुबेर लुइँटेलले लेखेका छन्, ‘साखेजुङले एउटा होनहार व्यक्ति गुमायो। हामी युवाहरूको अभिभावक गुम्यो। हार्दिक श्रद्धाञ्जली दाजु।’

यसैगरी, देवु बानियाँ लेख्छन्-

‘बिर्तामोडको मात्र होइन सिङ्गो झापाको मन जित्नु भएको थियो। जेसीजमा आफ्नै गरिमा थियो। व्यसायमा उत्तिकै प्रतिष्ठा थियो। समाज, परिवार साथीभाइको भीडमा अलग पहिचान थियो। सबैको मन जित्नु भएको तपाईको आफ्नै मन कसरी हार्यो बिनोद दाइ? तपाईंको यो अपत्यारिलो निधनको खबरले हामी सबैलाई गहिरो स्तब्ध तुल्याएको छ। यो अपूरणीय क्षतिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।

यसैबीच, बस्नेतको आजै अन्तिम संस्कार गरिने भएको छ। नातामा विनोदका दाजु नगेन बस्नेतले आजै साँझ उनको अन्तिम संस्कार गरिने जानकारी दिए। जगत बस्तीस्थित निवासबाट शव यात्रासहित कन्काइ माईमा लगेर उनको अन्त्येष्टि गरिने नगेनले जानकारी दिए।

बस्नेतले आत्महत्या गर्नुपर्ने कारण के थियो भन्नेबारे खुलेको छैन। सम्पन्न परिवारका उनलाई के समस्या थियो वा कुनै तनाव थियो भन्नेमा उनका नजिककाहरूले अनभिज्ञता प्रकट गरिरहेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ।

केही समयअघि पुर्ख्यौली घर पुगेका बेला बस्नेत।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *