शिक्षक-कर्मचारी आन्दोलन स्थगित, शिक्षा ऐन असार १५ भित्र जारी हुने
फाइल तस्बिर
काठमाडौं। सरकार र आन्दोलनरत् शिक्षकहरुबीच सहमति भएसँगै आन्दोलन रोक्ने निर्णय भएको छ। आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आन्दोलन रोक्ने निर्णय गरेको हो।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरुले नयाँ विद्यालय शिक्षा ऐन २०८२ असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलन स्थगित गरिएको महासंघले विज्ञप्ति जारी गर्दै जनाएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०८१ माघ २० गतेदेखि सुरु भएको आन्दोलन र पछिल्लो चरणमा २०८१ चैत २० देखि जारी काठमाडौं केन्द्रित सडक प्रदर्शन रोक्ने जनाइएको छ।
सरकारसँग भएका सहमति र मन्त्रिपरिषदबाट निर्णय भइसकेका केही मागहरु कार्यान्वयन हुने प्रतिबद्धता अनुसार आज बुधबारबाट लागू हुने गरी सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको महासंघले जनाएको छ।
महासंघले विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन तथा परीक्षासम्बन्धी सम्पूर्ण कार्य यथाशीघ्र पुनः सुरु गर्न सबैलाई अनुरोध गरेको छ। तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन पुनः तीव्र बनाइने चेतावनी पनि दिइएको छ।
