शिक्षा विधेयक यथाशीघ्र पारित गर्ने राजनीतिक प्रतिबद्धता
काठमाडौं। विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई प्रतिनिधि सभाबाट यथाशीघ्र पारित गरिने भएको छ। यसकालागि सत्तापक्षका नेताहरूले लिखित प्रतिबद्धता जनाएका छन्।
नेपाल शिक्षक महासङ्घको आह्वानमा गत चैत २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनका सन्दर्भमा प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र ( २०८२ असार १५ गते) पारित गराउने उल्लेख छ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेको उक्त प्रतिबद्धता पत्रमा संसदमा विधेयकबारे सैद्धान्तिक छलफल सम्पन्न भइसकेको र समितिमा उपसमिति गठन गरी दफावार छलफल भइरहेको जनाइएको छ।
प्रतिबद्धतासँगै नेपाल शिक्षक महासङ्घको अगुवाइमा भइरहेको आन्दोलन हाललाई स्थगित गरिएको छ। सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई पुनः नियमित शैक्षिक गतिविधिमा फर्कन आग्रह पनि गरिएको छ।
सत्तापक्षका नेताहरूको यो प्रतिबद्धतालाई शिक्षक महासङ्घले सकारात्मक रुपमा लिँदै ऐन तोकिएको मितिभित्र पारित नभए पुनः सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। महासंघले सहमतिसँगै आन्दोलन स्थगित गरिसकेको छ ।

