मोरङको सुन्दरहरैँचामा तनावः प्रहरीद्वारा हवाइ फायर, डीएसपी घाइते

विराटनगर। दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको मोरङको सुन्दरहरैँचा–१, हरैँचा बजारको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको छ।

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका थिए। उनीहरु तोडफोडमा समेत उत्रिएपछि बजार तनावग्रस्त बनेको थियो। टिपरको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका थिए।

स्थिति नियन्त्रणमा लिन मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी र अर्का डीएसपी मदन केसीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो। ठूलो संख्यामा सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो।

प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाइफायर र ८ सेल अश्रुग्यास प्रहार गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार वरपरका करिब ४–५ सय जनाको समूहले घटनास्थलमा रहेको टिपर हटाउने क्रममा ढुंगामुढा गरेको थियो।

मृतकको शवलाई सडकबाट उठाउन अवरोध गर्दै प्रदर्शन गर्दा अवस्था तनावपूर्ण बनेको थियो। भाला र लाठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले शव सडकमै राखेर प्रदर्शन गर्दै टिपरमा आगजनीको प्रयास समेत गरेका थिए।

ढुंगा प्रहारबाट डीएसपी जोशी घाइते भएका छन्। टाउकोमा चोट लागेका उनको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

एसपी चिमरियाका अनुसार सम्झाइबुझाइ गर्दा अवस्था शान्त नभएपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए।

प्रहरीले समन्वय गरेर शवलाई घटनास्थलबाट उठाउँदै पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। दिउँसो २ बजेपछि हरैँचा बजारको अवस्था सामान्य बनेको जानकारी एसपी चिमरियाले दिए।

प्रहरीले टिपर चालक बारा घर भइ मोरङको सुन्दरहरैँचा–१२ मा बस्दै आएका २५ वर्षीय पवन योन्जनलाई नियन्त्रणमा लिएको छ।

विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको थियो।

टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि हरैँचामा तनाव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *