दुर्घटनामा बालकसहित २ जनाको मृत्यु

विराटनगर । सुनसरी भोजपुरमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१० मा नम्बर नभएको ईभी स्कुटर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कुटर आफैं अनियन्त्रित भएर मंगलबार बेलुका दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको उल्लेख गर्दै प्रहरीले अन्दाजी ३० वर्षीय उनको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

यस्तै, भोजपुरको षडानन्द नगरपालिका–१४ मा को २ त ८६९७ नम्बरको ट्याक्टरले किचेर ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको छ। षडानन्द–१२ का विकास कार्कीका छोरा सौगात सडकछेउ पार्किङ गरेर राखिएको ट्याक्टरमा खेल्ने क्रममा दुर्घटनामा परेका थिए।

पार्किङ गरी चालक खाना खान गएका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। बालकले खेल्दा अगाडि बढेको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको थियो। त्यही क्रममा उनी किचिएका थिए।

दुर्घटनालगत्तै ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराई फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *