झापामा ट्यांकरको ठक्करले पुजारीको मृत्यु
झापा। ट्यांकरको ठक्करबाट कनकाईमा मंगलबार बिहान साइकलमा यात्रा गरिरहेका पुजारीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–८ घाघरा पुलमा बिहान ७ बजेतिर ना ७ प २९९७ नम्बरको ट्यांकरले साइकललाई ठक्कर दिएको थियो।
प्रहरीका अनुसार केर्खाबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री अर्जुनधारा नगरपालिका–५ का अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटाको मृत्यु भएको हो। उनी कल्याण केन्द्र सुरुङ्गाका पुजारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गम्भीर घाइते भएका सापकोटाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
ट्यांकर र चालक झापाको कमल गाउँपालिका–१ का ४६ वर्षीय भीमबहादुर कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
