कृषिजन्य वस्तु आयातमा कडाइ गर्दै निर्यात बढाउन सुझाव
काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले कृषिजन्य वस्तु आयातमा कडाइ गर्न सुझाव दिएको छ। कृषिजन्य उत्पादनको निर्वाध आयात हुँदा किसान समस्यामा परेको भन्दै आयोगले आयातमा भन्सार वृद्धि गर्न सिफारिस गरेको हो।
आयोगले कृषिको अनुसन्धान गर्ने नार्कको पुनर्संरचनादेखि हिमाल, पहाड र तराईका लागि फरक भूउपयोग योजना कार्यान्वयन गर्नसमेत सरकारलाई सुझाव दिएको छ। कृषि विज्ञहरुले आयोगका सुझाव कार्यान्वयन गर्न सके कृषि क्षेत्र रुपान्तरण हुन सक्ने बताएका छन्।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले कृषिजन्य वस्तुको आयातमा उदार नीति लिँदा नेपालमा उत्पादित वस्तुको संरक्षण हुन नसकेको निष्कर्ष निकालेको छ।
आयोगले कृषिवस्तुको आयात अनुमतिपत्र जारी गर्ने व्यवस्थामै कडाइ गर्न सुझाव दिएको छ । यसैगरी, कृषियोग्य जमिनको खण्डीकरण रोक्न, कृषि प्रसार सेवा प्रभावकारी बनाउन, कृषिसम्बन्धी नीतिलाई स्पष्ट पार्न र कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्न आयोगले सुझाव दिएको छ।
आयोगले अन्तर्राष्ट्रिय बजारको मागअनुसार गुणस्तरीय वस्तु उत्पादन बढाउने नीति लिन सुझाएको छ । विशेष गरी विदेशमा बढी माग हुने चिया, अलैँची, अदुवा, सुन्तला, अकबरे खुर्सानी जस्ता उच्च निर्यात सम्भावना भएका वस्तुको भौगोलिक पहिचान गरेर किसानलाई आकर्षित गर्ने नीति लिन आयोगले भनेको छ।
