देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित हुन शिक्षक-कर्मचारीलाई महासंघको अपील
फाइल तस्बिर
काठमाडौं। नेपाल शिक्षक महासंघले देशभरका सबै विद्यालय बन्द गरी काठमाडोंमा केन्द्रित हुन शिक्षक एवं कर्मचारीलाई आग्रह गरेको छ। महासंघको अगुवाइमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित आन्दोलन जारी छ।
महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आउनुहुन हामी सबै प्रधानाध्यापक, शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौ।’
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सोमबार अबेर राति विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्। सोमबारको सडक प्रदर्शनपछि महासंघको बैठक बसेको थियो। बैठकमा छलफल गरी यस्तो निर्णय भएको महासचिव थापाले जानकारी दिए।
चैत २० गतेदेखि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग छ।
आन्दोलनकै क्रममा महासंघले चैत २५ गतेदेखि आम शैक्षिक हडतालको घोषणा गरिसकेको छ। महासंघका अध्यक्ष सुवेदीका अनुसार अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट आन्दोलनलाई निरन्तता दिइएको हो।
आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै संस्थागत विद्यालय समेत बन्द गरिदिई आन्दोलनलाई सघाउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई पनि महासंघले आग्रह गरेको छ।
आन्दोलनको अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापकहरु तथा शिक्षक–कर्मचारीमा महासंघले आग्रह गरेको छ।
२०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीमा महासंघले अपील गरेको छ।
शीघ्रातिशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग तथा समर्थन गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पालिकाहरु तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष महासंघले अनुरोध गरेको छ।

