विद्यालय शिक्षा विधेयकबारे महासंघको टोलीले सरकारसँग छलफल गर्ने
काठमाडौं। नेपाल शिक्षक महासंघका प्रतिनिधिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा सरकारी टोलीसँग छलफल गर्ने भएको छ। महासंघका प्रतिनिधिमण्डलले बिहीबार विधेयकका विषयमा छलफल गर्ने भएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दिपक काफ्लेले विधेयकमा छलफल गर्न महासंघलाई पत्र पठाएका थिए।
महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले शिक्षा सचिवले पठाएको पत्र अनुसार विधेयकका विषयमा छलफल गर्न जाने लागेको बताइन्। यसको अर्थ सरकारसँग वार्ताका लागि समिति भने नबनाइएको उनको भनाइ छ।
शिक्षा ऐन जारी गर्नुपर्ने आफूहरूको मागका विषयमा शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको कुनै अर्थ नहुने पराजुलीले बताइन्। विधेयकका विषयमा छलफल गर्न अनुरोध भएअनुसार आफ्नो धारणा सहभागी हुने उनले बताइन्।
सरकारी टोलीसँग छलफलमा जानुअघि बिहीबार बिहान महासंघका पदाधिकारीले आन्तरिक छलफल गर्ने भएका छन्।
शिक्षक भन्छन्, ‘माग पूरा गर’, सरकार दोहोर्याउँदैछ, ‘वार्तामा आऊ’
