यसरी सम्भव भयो ओली-मोदी भेट
काठमाडौं। गत मार्च १८ तारिखमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भारतीय विदेश मन्त्रालयको आयोजनामा नयाँ दिल्लीमा आयोजित ‘राइसिना डायलग’ को १० औँ सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो।
त्यसक्रममा नेपाल–भारत सम्बन्धका विविध विषयहरुका अतिरिक्त थाइल्याण्डको बैंककमा आयोजित आसन्न बिमस्टेक बैठक र त्यहाँ दुई देशका प्रधानमन्त्रीको भेटवार्ताका विषयमा पनि कुराकानी भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा द्विपक्षीय भेटका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेशमन्त्रीसमक्ष प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावमा भारतीय विदेशमन्त्री डा. जयशंकरले सकारात्मक प्रतिक्रिया दिएका थिए। उक्त छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच आपसी हितका समसामयिक एजेण्डासहित भेटवार्ताको समय मिलाउने सहमति भएको थियो।
परराष्ट्रमन्त्री डा राणाले प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई सगरमाथा सम्वादको निमन्त्रणा गर्ने जानकारी दिंदै दुई देशबीचका परराष्ट्रमन्त्रीबीच यसअघि भएका वार्ताका एजेण्डा र प्रगतिको पनि समीक्षा र सम्बोधन गर्ने गरी भेटवार्ता तय गर्न भारतीय विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन्।
त्यसलगत्तै नेपाल फर्किएपछि मन्त्री डा. राणाले परराष्ट्र सचिवलाई प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा हुने द्विपक्षीय भेटवार्ताका विषयमा कुराकानी भएकाले त्यसका लागि मन्त्रालयमार्फत् गर्नुपर्ने तयारी गर्न निर्देशन दिएकी थिइन्।
त्यसैअनुसार बैंककमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो। ओली र मोदीबीच करिब ४० मिनेट कुराकानी भएको थियो। उक्त वार्ताका एजेण्डाहरुलाई भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालको पेजबाट सार्वजनिक पनि गरिसकेका छन्।
यसअघि गत असोजमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा गएका बेला परराष्ट्रमन्त्री डा.राणाको अनुरोधमा न्युयोर्कमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता भएको थियो।
नेपालमा नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा आउने गरेको कूटनीतिक प्रचलन छ। तर यस पटक भने भारतले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो प्राप्त भएको छैन। ओली नेतृत्वको सरकार असार ३० गते गठन भएको हो।
