बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा दम्पतीको मृत्यु
विराटनगर। मोरङको रतुवामाईमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ कल्याणपुरका अन्दाजी ४२ वर्षीय सोम टुडू र पछाडि बसेकी उनकी पत्नी अन्दाजी ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको हो।
मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा राति १०ः१० बजेतिर दुर्घटना भएको भएको हो।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको को ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएको लम्सालले बताए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पठाएका थिए।
उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। इलाका प्रहरी कार्यालय सिजुवाले मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
