‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था भताभुङ्ग हुन्छ’
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएका सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यको साझा परिणाम रहेको बताए।
उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु। मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको छु। यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जबाफदेहितामा आधारित थिए।’
उनले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरे। उनले विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भएकाले आगामी दिनमा सजग रहने बताए।
‘स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए। मलाई कमजोर बनाउन आगामी दिनमासमेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु।’
प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने आफूलाई विश्वास लागेको उल्लेख गर्दै उनले भने, ‘तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ। यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ।’
