आन्दोलनमा नलागेका उदयपुरका दाजुबहिनीलाई गोली, बहिनी सिकिस्त

काठमाडौ। राजावादी समूहले प्रदर्शन गरेको दिन चैत १५ गते शुक्रबार कोटेश्वरस्थित कोठानजिकै गोली लागेका उदयपुरका दाजुबहिनी सिकिस्त अवस्थामा उपचार गराइरहेका छन्।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शन कोटेश्वर क्षेत्र पुगेपछि २४ वर्षीय दिनेशकुमार खत्री र उनकी बहिनी २२ वर्षीया रेबिकालाई गोली लाग्यो। उनीहरु उदयपुरको चौदण्डीगढीका हुन्। कोटेश्वरमा बस्दै आएका थिए।

आन्दोलनसँग कुनै सरोकार नभएका निर्दोष उनीहरु गोली लागेर गम्भीर घाइते भएका हुन्। रेबिकाको निजामती अस्पतालमा उपचार भइरहेको छ।

आन्दोलनका दिनसाढे ४ बजे रेबिका जडिबुटी क्षेत्रबाट कोटेश्वर आउँदै थिइन्। अचानक सडकभरी प्रहरी देखेपछि उनी अताल्लिइन्। बन्दुकसहित हस्याङफस्याङ गर्दै कुदेका प्रहरी देखेपछि उनले दाजुलाई फोन गरिन्। दाजु दिनेशकुमार उनलाई लिन कोठाबाट निस्किए।

बहिनीलाई लिएर दिनेश मूल सडकबाट गल्लीतिर छिरे। मूल कोठामा पुग्नै लाग्दा उनीहरू दुवैलाई गोली लाग्यो। गोली कसले चलायो उनीहरूले पत्तो पाएनन्।

प्रदर्शनका सहभागीले भाटभटेनी स्टोरमा लुटपाट मच्चाउन थालेपछि प्रहरी पुगेको थियो। तनावपूर्ण अवस्था नियन्त्रणमा लिन त्यसक्षेत्रमा प्रहरीले गोली समेत चलाइरहेका थिए।

त्यस्तो अवस्थामा आफूहरु हतारहतार कोठातिर जाँदै गर्दा एक्कासि गोली लागेको दिनेश बताउँछन्। कोठानजिकै पुगेपछि पहिले दिनेशलाई गोली लाग्यो। उनलाई ठूलो क्षति गरेन तर गोलीले रेबिकाको दायाँ तिघ्रा क्षतक्षित बनाएको छ। दिनेशको पनि तिघ्रामै गोली लागेको छ।

उनीहरू दाजुभाइका छोराछोरी हुन्। रेबिका अलग्गै बस्थिन्। तर त्यसदिन रेबिका दिनेशको कोठामा बस्न भनेर आएकी थिइन्। रेबिका उदयपुरको चौदण्डिगढी नगरपालिकाका नगर सदस्य तुलसीराम खत्रीकी छोरी हुन्। दिनेश इन्द्रबहादुर खत्रीका छोरा हुन्।

रेबिका निजामती अस्पतालको आईसीयूमा छिन्। चार दिन भेण्टिलेटरमा राखेर सोमबार आईसीयूमा सारिएको हो। रेबिका कोटेश्वर क्याम्पसमा बीबीएस चौथो सेमेस्टारकी विद्यार्थी हुन्।

उनी जडिबुटीमा रहेको एक खाद्यान्न पसलमा काम गर्दै पढाइलाई अघि बढाइरहेकी थिइन्। दिनेश ब्याचलर सकेर मास्टर्स गर्न अष्ट्रेलिया जाने तयारीमा थिए।

दिनेश र रेबिकाको उपचारमा अहिलेसम्म कसैले सहयोग गरेका छैनन्। प्रहरी–प्रशासनबाट सोधपुछबाहेक उपचारमा सहयोग नपाएको दिनेशको भनाइ छ।

यसैबीच, दाजु बहिनीमाथि गोली प्रहार भएको घटनाप्रति संविधानविद् भिमार्जुन आचार्यले चिन्ता व्यक्त गरेका छन्। उनले उक्त घटनामा राजावादीभन्दा भिन्न बन्ने होडमा सविन महर्जन र सुरेश रजकको निहत्था ज्यान गएको र सोही क्रममा दाजुबहिनी दिनेश र रेबिका खत्रीमाथि प्रहरीले गोली चलाएको विषयमा चिन्ता व्यक्त गरेका हुन्।

मानव अधिकार आयोगको औचित्यबारे उनले प्रश्नसमेत उठाएका छन्। ‘राज्यको आतंकमा यसपटक हामी मिडिया, नागरिक समाज र जिउँदा मान्छे भन्ने सबै नराम्रोसँग चुक्यौं,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राष्ट्रिय मानव अधिकार आयोगको त अब रहनु र नरहनुको कुनै अर्थ र औचित्य बाँकी रहेन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *