खाँदबारीमा योजना छनोट र आयोजना बैंकबारे छलफल
संखुवासभा। योजना छनोट र आयोजना बैंकका सम्बन्धमा छलफल गर्न सदरमुकाम खाँदबारीमा अन्तरक्रिया गरिएको छ। त्यसम्बन्धी अभिमुखीकरण र वार्षिक योजना तर्जुमा गोष्ठीमा विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी थिए।
कोशी प्रदेश योजना आयोगले आयोजना गरेको गोष्ठीमा जिल्लाका १० वटै स्थानीय तह, प्रदेशसभा सदस्य र राजनीतिक दल तथा सरोकारवालाहरुको सहभागिता थियो। कार्यक्रममा कोशी प्रदेश योजना आयोगका सचिव मिमांस अधिकारी योजना छनोटका प्रक्रियालगायत विषयमा जानकारी गराएका थिए।
प्रदेशसभा सदस्य र स्थानीय तहबाट प्राप्त आयोजना प्रदेश आयोजना छनोट तथा वर्गीकरण मापदण्ड २०८० र आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८१ को मापदण्डबमोजिम भएका आयोजनालाई आयोजना बैंकमा समावेश गर्ने निर्णय भएको प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताए।

कार्यक्रममा विषयगत मन्त्रालयबाट प्राप्त सूचीमा छुट भएका आयोजना सम्बन्धित मन्त्रालय वा कार्यालयमा चैत १९ गतेसम्म पेस गर्नुपर्नेबारे पनि जानकारी दिइएको थियो।
यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयको आफ्नो कार्यालय नभएको र अन्य सामाजिक संघ संस्थाबाट समेत आयोजना माग भई आएमा जिल्ला समन्वय समिति प्रमुखमार्फत मन्त्रालय पठाउने निर्णय भएको प्रदेशसभा सदस्य विदुरकुमार लिङथेपले बताए।
प्रदेशस्तरीय आयोजना छनोट प्रक्रियाका लागि स्थानीय तहले आयोजना वर्गीकरण गरी सूची तयार गर्ने, तिनको अध्ययन र विश्लेषण गरी आयोजना बैंकमा समावेश गर्ने, गोष्ठीबाट आएका र मन्त्रालयबाट पहिचान भएका योजना आयोजना बैंकमा प्रविष्ट गरिने जनाइएको छ।
