१३ वर्षीया बालिका बलात्कृत, ३ लाख दिएर ‘मिलाउने’ प्रयास, ४ जना पक्राउ

इलाम। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिका–२ का एक युवकलाई पक्राउ गरेको छ। पैसा दिएर ‘घटना मिलाउने’ काममा संलग्न अरु तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

बलात्कार आरोपमा स्थानीय २४ वर्षीय केशव गिरीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार चैत ६ गते साँझ ती बालिकालाई प्रलोभन र डरत्रासमा पारी सितलीस्थित चिया बगानमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे पीडितकी आमाले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) सञ्जीव बोगटीको नेतृत्वमा टोली खटाइएको थियो। उक्त टोलीले खोजी गर्ने क्रममा मुख्य अभियुक्त भनिएका केशवलाई पक्राउ गरेको हो। त्यसपछि अरु पनि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घटनापछि गुपचुप रुपमा मिलाउने प्रयास गरेका स्थानीय ५८ वर्षीय केदारनाथ गिरी, ४३ वर्षीय यादव भनिने नारायण गिरी र पाँचथरे भनिने ३८ वर्षीय तुलाधर अर्याललाई पक्राउ गरिएको छ।

अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाएर तीन लाख रुपैयाँ दिएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले उक्त रकम पीडितकी आमाको साथबाट बरामद गरेकोे छ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत इलाममा उपस्थित गराएर सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *