एसईई : रौतहटमा परीक्षार्थीबाट १ हजार २३३ मोबाइल फोन बरामद
रौतहट। रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भइरहेका परीक्षार्थीले बोकेका ४६९ वटा मोबाइल फोन बरामद गरिएको छ। परीक्षा सञ्चालन भएको तीन दिनको अवधिमा १ हजार २३३ थान मोवाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
विभिन्न परीक्षा केन्द्रमा ‘चिटिङ’ गर्ने उद्देश्यले परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए। त्यस क्रममा जाँच गर्दा ती मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार प्रेस नोट जारी गर्दै उक्त जानकारी दिएको हो। परीक्षा हलभित्र गार्डको रूपमा खटिएर आफ्नो जिम्मेवारी कुशलपूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए।
प्रहरीले कुन–कुन परीक्षा केन्द्रबाट गार्डलाई नियन्त्रणमा लिएको भन्ने खुलाइएको छैन।
